रेखा थापा भन्छिन् – ‘राप्रपालाई जिताउनुस्, जितेपछि काम नगरे म कारबाही गर्छु’

काठमाडौँ – अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले पार्टीका जनप्रतिनिधिले काम नगरे कारवाही हुने बताएकी छन्। बिहिबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा थापाले चुनावमा गरेका वाचालाई भुल्ने जनप्रतिनिधि माथि कारवाही हुने बताएकी हुन्।

बुटवलमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै बुटवलमा महानगरपालिकामा आफ्नो पार्टीबाट उठ्ने उम्मेदवारलाई जिताउन आग्रह गर्दै काम नगरे जनतासँगै मिलेर जनकारवाही गर्ने थापाले बताइन्।

“यो नगरमा जो उठ्नुहुन्छ तपाईँहरुले जिताएको खण्डमा र उहाँले गरेका बाचा पुरा गर्नु भएन भने मलाई भन्नुस् म समातेर ल्याएर तपाईँका काखमा राखिदिन्छु। तपाईँहरूको साथमा रहेर म जनकारवाही गर्छु । एज अ कालारकारको सिवासले पनि र जनताको हैसियतले पनि।”,थापाले भनिन्।

त्यसक्रममा थापाले आगामी स्थानीय तह निर्वाचनमा राप्रपालाई जिताए जनताले निराश हुन नपर्ने पनि बताइन्। राप्रपा जनतालाई नेता र भगवान मान्ने थापाको भनाई छ। थापाले जनतालाई आफूहरु भ्रमपूर्ण सपना देखाउने पक्षमा नरहेको बताउन पनि छुटाइनन्।

उनले भनिन्,”हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ । राप्रपा जनतालाई नेता र भगवान मान्छ । पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन।”

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१९:०३

गठबन्धनका कारण जसपा नेताले छाडे पार्टी !