जाभी भन्छन् – ‘हामीले राम्रो खेल्न सकेनौं’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले जितका वावजुत राम्रो खेल्न नसकेको बताएका छन्। बिहिबार राति लालिगा अन्तर्गतको खेलमा रियल सोसिडाडलाई पराजित गरेपछि जाभीले सोसिडाड विरुद्ध राम्रो खेल्न नसकेको बताएका हुन्।

खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा जाभीले सोसिडाड विरुद्धको खेलमा तीन अंक प्राप्त भएपनि आफू खेलबाट सन्तुष्ट नरहेको बताए। दोस्रो हाफमा बार्सिलोनाको टोलीले संघर्ष गर्न परेको जाभीको भनाई छ।

“म तीन अंकबाट सन्तुष्ट छु। यो टोली र क्लबको भविष्यका लागि महत्त्वपूर्ण जीत हो। तर म खेलबाट भने सन्तुष्ट छैन। हामीले दोस्रो हाफ संघर्ष गर्नु पर्यो। हामीले इमान्दार भएर आत्म-आलोचना गर्नुपर्छ। हामीले राम्रो खेलेका छैनौं र हामीले सुधार गर्नुपर्छ।”,जाभीले भने।

सोसिडाडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले धेरै संघर्ष गर्न परेको थियो। बलमा बार्सिलोनाको कम नियन्त्रण थियो। बलमा बार्सिलोनाको मात्रै ४४ प्रतिशत नियन्त्रण थियो।

खेल भर बार्सिलोनाको तर्फबाट कुल ११ प्रहार भएका थिए। जस मध्ये मात्रै एक प्रहार टार्गेटमा थियो। सो प्रहार गोलमा समेत परिणत भएको थियो। बार्सिलोनाका लागि खेलको एघारौं मिनेटमा पिएरे एम्रिक औबामियाङले गरेको गोल नै निर्णायक हुन पुग्यो।

सोसिडाड माथि जित निकालेसँगै बार्सिलोना लालिगाको दोस्रो स्थानमा उक्लिएको छ। सोसिडाड विरुद्ध जित निकालेसँगै बार्सिलोनाले ६३ अंक बनाएको छ। सिजनका ३२ खेल खेल्दा बार्सिलोनाले अहिले सम्म ५ खेलमा हार बेहोरेको छ भने १८ खेलमा जित निकालेको छ।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९०९:१३

बार्सिलोनाको स्क्वाडमा पहिरो, एकाएक तीन डिफेन्डर घाइते ! को-को ?