बार्सिलोनाको स्क्वाडमा पहिरो, एकाएक तीन डिफेन्डर घाइते ! को-को ?

एजेन्सी – सिजनको सुखद अन्त्य गर्ने योजनामा रहेको बार्सिलोनालाई झड्का लाग्ने देखिएको छ। रियल सोसिडाड विरुद्धको खेलमा तीन डिफेन्डर घाइते भएसँगै सिजनको सुखद अन्त्य गर्ने बार्सिलोनाको योजनामा धक्का लागेको हो।

सोसिडाड विरुद्धको खेलमा प्रशिक्षक जाभी हर्नान्डेजले रोनाल्ड अराउजोलाई प्रतिस्थापन गर्नुपर्यो। घुँडामा समस्या भएपछि उनलाई जाभीले मैदान बाहिर निकालेका थिए। उनको स्थानमा एरिक गार्सियालाई मैदानमा उतारिएको थियो।

जोर्डी अल्बा समेत सो खेलमा घाइते भए। पूरा समय मैदानमा रहेपनि उनी घाइते भएको बताइन्छ। अराउजो घाइते भएर मैदान छाडेकै बेला उनी पनि घाइते भएका थिए। तर असहजताका बाबजुत उनले पूरा खेले।

त्यस्तै बिहिबार ड्यानी अल्भेस पनि घाइते भएका छन्। घाइते भएर अराउजोले मैदान छाडेको १० मिनेटमा अल्भेस पनि घाइते हुन पुगेका थिए। उनलाई बार्सिलोनाको मेडिकल टीमले नै मैदान बाहिर लैजानुपरेको थियो।

जेरार्ड पिके पनि सोसिडाड विरुद्धको खेलमा असहज महसुस गरिरहेका थिए। तिघ्रामा समस्या देखिएपछि दुई खेल गुमाएर फर्किएपनि पिके पूरा फिट देखिँदैनथे। खेलभर उनले असहज महसुस गरिरहेको देखिन्थ्यो। जसकारण उनलाई पनि ८२ औँ मिनेटमा फिर्ता बोलाइएको थियो।

डिफेन्डर मात्र नभई एक मिडफिल्डरमा समेत समस्या देखिएको स्पेनिस मिडियाहरु बताउँछन्। मिडफिल्डर गाभीले सोसिडाड विरुद्ध त्यति राम्रो खेल्न सकेनन्। गाभीले बल्ल-तल्ल खेल सकाएका थिए। गाभीमा सामान्य समस्या मात्र देखिएको अनुमान गरिएको छ। सोसिडाड विरुद्धको खेल पश्चात आगामी खेलका लागि अराउजो, अल्भेस र जोर्डी अल्बा उपलब्ध नहुने उच्च सम्भावना देखिन्छ।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९१०:११

“हामी समयमै लयमा आएको भए रियल अर्कै हालतमा हुन्थ्यो”