क्लबको पुनरुत्थानका लागि युनाइटेडले छुटायो बजेट, नयाँ प्रशिक्षकलाई यति खर्च गर्न दिने !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले नवनियुक्त प्रशिक्षक एरिक टेन ह्यागलाई १ सय २० मिलियन पाउण्ड भन्दा बढी रकम उपलब्ध गराउने भएको छ। युनाइटेडको फुटबल टोलीलाई नयाँ रुप दिन युनाइटेडले उनलाई १ सय २० मिलियन पाउण्ड भन्दा बढी रकम उपलब्ध गराउने भएको हो।

डच क्लब आयाक्सका प्रशिक्षक रहेका ह्यागलाई युनाइटेडले बिहिबार मात्र प्रशिक्षकमा नियुक्त गरेको थियो। युनाइटेडले उनलाई क्लबको दिर्घकालिन प्रशिक्षकको रुपमा अगाडी बढाउने योजना बनाएको छ।

युनाइटेडले ३ वर्षको लागि डच टेन ह्यागलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ। ह्यागले यो सिजनको अन्त्यसँगै आयाक्स छाडेर युनाइटेड आउने छन्। टेन ह्याग सन् २०१३ मा सर एलेक्स फर्गुसनले क्लब छाडेपछिको पाँचौं स्थायी प्रशिक्षक बनेका छन्। ओल्ड टाफोर्डमा ५२ वर्षीय टेन ह्यागको सहायकमा मिचेल भान डर गाग पनि सामेल हुनेछन्।

युनाइटेडमा रहेका धेरै खेलाडीहरुको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदै छ। पल पोग्बा, नेमान्जा माटिक, जेसी लिंगार्ड, जुआन माटा र एडिन्सन काभानीले फ्री ट्रान्सफरमा क्लब छाड्ने उच्च सम्भावना रहेको छ। जसकारण युनाइटेडले धेरै भन्दा धेरै खेलाडीलाई क्लबमा भित्र्याउन पर्नेछ।

त्यस्तै क्लबले एन्थोनी मार्शल, फिल जोन्स र एन्ड्रियास परेरा जस्ता खेलाडीलाई पनि बिक्री गर्ने प्रयास गर्नेछ। यदि यी खेलाडी बिक्री भएको खण्डमा क्लबले ह्यागलाई दिइने बजेटमा वृद्धि गर्नेछ।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९१८:५६

पूर्व खेलाडी भन्छन् – “बेन्जेमा होइन मानेले जित्नुपर्छ बालोन डी’ओर”