छाँगाबाट खस्ने अवस्थामा चेल्सी, यस्तो भए शिर्ष चारबाट आउट !

एजेन्सी – सिजन शुरु हुँदा लण्डन क्लब चेल्सीको रवाफ नै छुट्टै थियो। च्याम्पियन्स लिग जितेको चेल्सीले प्रिमियर लिग उपाधिका लागि कडा टक्कर दिने अनुमान गरिएको थियो। समर ट्रान्सफर विन्डोमा इटालियन क्लब इन्टर मिलानबाट महँगो मूल्यमा रोमेलु लुकाकु भित्र्याएपछि त चेल्सी थप घातक हुने धेरैको अनुमान थियो।

सिजनको शुरुवातमा चेल्सीले त्यस्तै छनक पनि देखायो। चेल्सीले प्रिमियर लिगको शिर्ष स्थानमा केहि समय पकड पनि बनायो। तर सिजन अगाडी बढ्दै गर्दा चेल्सीले आफ्नो प्रदर्शनलाई उच्च स्तरमा राख्न सकेन। फलस्वरूप चेल्सी शिर्ष स्थानबाट सिधै तेस्रो स्थानमा पुग्यो।

चेल्सी अहिले प्रिमियरको तेस्रो स्थानमा छ। चेल्सी दोस्रो स्थानको लिभरपुल र म्यानचेस्टर सिटी भन्दा धेरै पछि परिसकेको छ। सिजनका ३१ खेल खेल्दा चेल्सीले ६२ अंक जोडेको छ। यो एक खेल बढी खेलेका लिभरपुल र सिटी भन्दा १४ र १५ अंकले कम हो।

चेल्सी यहि साता मात्रै शिर्ष चारको दौडमा रहेको आर्सनलसँग पराजित हुन पुग्यो। सो हारले चेल्सीलाई नराम्रो धक्का लागेको छ। यससँगै चेल्सीले अब शिर्ष चारका लागि अन्य क्लबहरुबाट प्रतिष्पर्धा खेप्नुपर्ने अवस्थामा पुगेको छ।

चौंथो स्थानमा रहेको टोटेनह्याम र पाँचौ स्थानको आर्सनल चेल्सी भन्दा मात्रै पाँच अंकले पछाडी छन्। एक खेल मात्र बढी खेलेका दुवै टोली अंक तालिकामा नजिक हुनु चेल्सीका लागि पक्कै पनि सुखद कुरा होइन। खेल सुधार नगर्ने हो र आउने समयमा पनि पराजित हुने हो भने चेल्सी शिर्ष चारबाट बाहिरिन सक्छ।

चेल्सीले प्रिमियर लिगको जारी सिजनमा सात खेल खेल्न बाँकी छ। चेल्सीले खेल्न बाँकी रहेका टोलीहरुमा वेष्टह्याम, म्यानचेस्टर युनाइटेड, एभर्टन, वुल्भ, लिड्स युनाइटेड, लेस्टर सिटी र वाटफोर्ड रहेका छन्।

चेल्सीले कम्जोर भन्दा पनि बलिया टोलीहरुको सामना गर्न बाँकी छ। वेष्टह्याम, युनाइटेड, लेस्टर, वुल्भ जस्ता क्लबहरु चेल्सीलाई पराजित गर्न सक्ने क्षमता राख्न सक्छन्। खेल्न बाँकि रहेका सात खेल मध्ये २ खेलमा पराजय भोग्ने हो भने चेल्सी शिर्ष चारबाट बाहिरिन सक्छ।

प्रकाशित : शनिबार, बैशाख १०, २०७९१६:१५

रियललाई झड्का लाग्ने संकेत, यसकारण बिच्किए एम्बाप्पे !