अफ्रिकी प्रेमीको मायाजालमा पर्दा …

काठमाडौं । जाम्बियाकी ३५ वर्षीया कापुतला अविसर्ज वैशाख २ गते दक्षिण अफ्रिकाबाट नेपालका लागि हिँडिन् । उनी वैशाख ३ गते त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उत्रिएलगत्तै पक्राउ परिन् । कारण, उनीसँग सात किलो अवैध लागुऔषध सेतो हेरोइन थियो । कापुतला यसअघि पनि पटकपटक लागुऔषध ओसारपसारमा संलग्न रहँदै आएकी थिइन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

तर, नेपाल भने उनका लागि पहिलो ‘ट्रान्जिट’ थियो । दुई बच्चाकी आमा कापुतलाको दक्षिण अफ्रिकाकै एक युवासँग प्रेम सम्बन्ध थियो । उनै प्रेमीले नेपाल घुम्न जाने बाहनामा कापुतलालाई जालमा फसाए । उनका लागि हवाइजहाजको टु–वे टिकटदेखि होटल बसाइसम्मको बन्दोवस्त गरिएको थियो ।

प्रेमीको विश्वासमा परेकी कापुतला सुटकेसभित्र सात किलो सेतो हेरोइन बोकेर विमानस्थलमा झर्ने बित्तिकै एक्स–रे मेसिनको सुरक्षा जाँचपछि पक्राउ परिन् । प्रहरीले पक्राउ गर्ने बित्तिकै कापुतला नाटक गर्न थालिन् । उनले आफूलाई कसैले फसाएको भन्दै वयान दिन थालिन् । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले अनुसन्धान गर्दै जाँदा कापुतला योजनाबद्ध ढंगले लागुऔषध भारतीय नागरिक लल्लनपुइलाई बुझाउन नेपाल आएकी थिइन् । त्यसबापत उनले दुई लाख रुपैयाँ पाउने थिइन् ।

एनसिबीले कापुतलाको मोबाइल जाँच गर्दा उनीसँग दक्षिण अफ्रिकाका युवासँग नियमित सम्पर्क भएको देखियो । नेपाल उत्रिने बित्तिकै लल्लनपुइसँग सम्पर्क गर्ने र सुटकेस साट्नेसम्मको वार्तालाप मोबाइलमा उल्लेख थियो । लाजिम्पाटको एक होटलमा बस्ने र भारतीय नागरिक आएपछि सुटकेस साट्ने योजनामा रहेकी कापुतलालाई विमानस्थलमै एनसिबीको टोलीले पक्राउ गर्यो ।

दुई बच्चाकी आमा कापुतलाको दक्षिण अफ्रिकाका एक युवासँग प्रेम सम्बन्ध थियो । उनै प्रेमीले नेपाल घुम्न जाने बाहनामा कापुतलालाई जालमा फसाए । प्रेमीको विश्वासमा परेकी कापुतला सुटकेसभित्र सात किलो सेतो हेरोइन बोकेर विमानस्थलमा झर्ने वित्तिकै एक्स–रे मेसिनको सुरक्षा जाँचपछि पक्राउ परिन् ।

कापुतलाको मोबाइलमा दक्षिण अफ्रिकाबाट तारन्तार फोन र एसएमएस आइरहेको थियो । प्रहरीले कापुतलालाई योजना अनुसार सन्देश फर्काउन भन्यो । भारतबाट वैशाख ४ गते लल्लनपुई कापुतलालाई भेट्न आइन् । त्यसपछि प्रहरीले उनलाई पनि समात्यो ।

सुरुमा प्रहरीले बरामद लागुऔषध कोकिन हो कि भन्ने आशंका गरेको थियो । तर, ल्याब टेस्ट गर्दा सेतो हेरोइन रहेको पुष्टी भयो । प्रहरीका अनुसार, बरामद गरिएको सात किलो सेतो हेरोइनको अन्तर्राष्ट्रिय अवैध बजार मूल्य करिब १४ करोड रुपैयाँ हुन आउँछ ।

कापुतलाबाट बरामद सुटकेसमा दुई फरक प्रकारले फल्स बटम बनाएर सेतो हेरोइनलाई कन्सिल्ड गरिएको थियो । केही परिमाण सुटकेसको पिँधमा सिल्भर पेपरले मोडेर राखिएको थियो भने केही लेडिज ब्यागभित्र कालो प्लास्टिकमा बेरेर राखिएको थियो ।

प्रहरीले कापुतलाको राहदानी हेर्यो । उनी नेपाल पहिलोपटक आए पनि यसअघि अफ्रिका र युरोपका विभिन्न मुलुकमा भ्रमण गरेको रहस्य खुल्यो । प्रहरी वयानमा कापुतलाले भनेकी छिन्, ‘यो मेरो पहिलो होइन् । यसअघि धेरै मुलुकमा मैले लागुऔषध पुर्याएकी छु । नेपाल घुम्न आए पनि प्रेमीले सुटकेस पठाएकाले ल्याएकी हुँ । लागुऔषध बोकेको छु भन्ने थाहा थिएन ।’ उनी वैशाख १९ गते स्वदेश फर्कने तयारीमा थिइन् ।

स्नातक तहसम्मको पढाइ गरेकी कापुतलाले दक्षिण अफ्रिकाको प्रेमीको बारेमा सबै जानकारी प्रहरीलाई दिएकी छन् । भारतीय नागरिक लल्लनपुईले पनि भारतमा रहेका कारोबारीको सूचना एनसिबीलाई दिएकी छन् । प्रहरीले उनकै सूचनाका आधारमा भारतीय कारोबारीलाई पक्राउ गर्ने प्रयास गर्यो । तर, सफल भएन । प्रतिवादीमा भने उनीहरूको पनि नाम समावेश गरेको छ ।

एनसिबीले एकैपटक बरामद गरेको सेतो हेरोइनको परिमाण यो अहिलेसम्मै धेरै हो । एनसिबीले घटनाबारे जानकारी दिन आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । एनसिबीका निमित्त प्रमुख एसपी जीवनकुमार श्रेष्ठले भने, ‘विदेशबाट नेपाल ट्रान्जिट भएर हवाई मार्ग हुँदै नेपाल आएपछि बरामद भएको सेतो हेरोइनमध्ये यो अहिलेसम्मै ठूलो परिमाण हो । जसमा लिएर आउने र बुझ्ने दुवै पक्राउ परेका छन् ।’

एनसिबीका अनुसार पछिल्लो समयमा अफ्रिकाका लागुऔषध कारोबारीले नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरिरहेका छन् । कापुतला पक्राउअघि एनसिबीलाई एउटा सूचना आएको थियो । कोकिन बोकेर कोही आएको सूचना पाएपछि प्रहरीले एक जनालाई पक्राउ पनि गर्यो । साथमा केही नभेटिएपछि अस्पताल पुर्याएर सिटी स्क्यानसमेत गरियो । तर, केही फेला परेन ।

लगातार अफ्रिकी मुलुकका नागरिकलाई निगरानी गर्दा कापुतला सप्रमाण पक्राउ परेको जानकारी एसपी श्रेष्ठले दिए । कापुतला र लल्लनपुईविरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन–२०३३ अन्तर्गत कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा म्याद थप गरेर अनुसन्धान थालेको छ । कसुर प्रमाणित भएमा उनीहरू दुवैले जन्म कैद सजाय पाउनेछन् र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना पनि तिर्नुपर्ने हुन्छ ।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९०८:५०

नमुना एकीकृत बस्ती असफल !