एजेन्सी – लाजियोमाथि पूनरागमन जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । लाजियोमाथि २–१ को पूनरागमन जित निकालेपछि शहरी प्रतिद्धन्द्धी इन्टर मिलानलाई पछि पार्दै मिलान शीर्षस्थानमा उक्लन सफल भएको हो ।
रोमामा आइतबार राति भएको खेलमा मिलानको पूनरागमन जितमा ओलिभर जिरुड र सान्द्रो टोनालीले गोल गरे । घरेलु टोली लाजियोका सिरो इमोविलेको गोल सान्त्वना बन्यो । खेलको चौथो मिनेटमा नै सिरो इमोविलेको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले सेर्गेज मिलिन्कोभिक साभिकको पासलाई सदुपयोग गरेका थिए ।
पहिलो हाफमा पछि परेको मिलानले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काउन सफल भयो । ५०औं मिनेटमा ओलिभर जिरुडले राफयल लियोको पासमा गोल गर्दै मिलानलाई खेलमा फर्कने संकेत दिए । त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सान्द्रो टोनालीले गोल गर्दै मिलानलाई महत्वपूर्ण ३ अंक दिलाए । उनले ज्लाटन इब्राहिमोभिचको पासमा गोल गर्न सफल भएका थिए ।
यो जितसँगै शीर्षस्थानमा उक्लिएको मिलानले दोस्रो स्थानको इन्टर मिलानलाई २ अंकले पछि पारेको छ । मिलानको ३४ खेलबाट ७४ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टरको ७२ अंक छ । पराजित लाजियो ५६ अंक जोडेर सातौ स्थानमा रहेको छ ।
अन्य नतिजा
सालेरनिटानाविरुद्ध फियोरेन्टिना (२–१), बोलोग्नाविरुद्ध उडिनेस (२–२), इम्पोलीविरुद्ध नेपोली (३–२) र जिनोआविरुद्ध क्याग्लिएरी (१–०)

