बार्सिलोना हारेपछि रियल मालामाल, शनिबार नै लालिगा च्याम्पियन घोषित हुन सक्ने !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमै पराजित भएपछि लालिगाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिडलाई फाइदा पुगेको छ। बार्सिलोना रायो भालेकानोसँग पराजित भएसँगै रियललाई फाइदा पुगेको हो।

आइतबार राति भएको खेलमा रायो भालेकानोसँग बार्सिलोना १–० ले स्तब्ध भयो। रायो भालेकानोका अल्भारो गार्सियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। बलमा नियन्त्रण राखेरपनि बार्सिलोनाले गोल गर्न सकेन।

खेलभर बार्सिलोनाले बलमा ७२ प्रतिशत नियन्त्रण राखेको थियो। त्यस्तै बार्सिलोनाले प्रहार पनि उल्लेख्य गरेको थियो। खेलभर बार्सिलोनाले कुल १८ प्रहार गरेको थियो। त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा भने परिणत हुन सकेन।

आइतबारको खेलपछि बार्सिलोना ६३ अंकमै सिमित भएको छ। शिर्ष स्थानमा रहेको रियल भन्दा बार्सिलोना १५ अंकले पछाडी छ। दुवैले बराबर ३३ खेल खेलेका छन्।

लालिगा च्याम्पियन बन्ने संघारमा रियल

बार्सिलोना र रियल दुवैसँग पाँच-पाँच खेल बाँकी रहेका छन्। बाँकी पाँचै खेलमा जित निकाल्न सके पनि बार्सिलोनाले अब ७८ अंक मात्रै बनाउनेछ। लालिगामा रियलको अहिले ७८ अंक छ। यस्तोमा लालिगा च्याम्पियन बन्न रियललाई पाँच खेलबाट मात्रै एक अंक चाहिनेछ।

बाँकी पाँच खेल मध्ये ४ मा हारेर मात्रै एक खेलमा जित अथवा बराबरी मात्र खेलेपनि रियल ला लिगा च्याम्पियन बन्नेछ। रियलले लालिगाको आउने खेलमा इस्प्यानोलको सामना गर्दैछ।

त्यसपछि एटलेटिको म्याड्रिड, लेभान्टे, काडिज र रियल बेटिस विरुद्ध रियल आमने-सामने हुन्छ। यी पाँच मध्ये कुनै पनि खेलमा बराबरी मात्र खेले रियल च्याम्पियन्स बन्नेछ। शनिबार राति रियल च्याम्पियन्स बन्ने उच्च सम्भावना देखिन्छ। घरेलु मैदानमा इस्प्यानोल विरुद्ध हुने सो खेलमा जित निकाल्ने रियलको दाउ हुनेछ।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९०९:४०

चेल्सीलाई लाग्ने भयो झड्का, महत्वपूर्ण खेलाडीले क्लब छाड्ने पक्का !