लेवान्डोस्की भित्र्याउने बार्सिलोनाको सपना चकनाचुर !

एजेन्सी – जर्मन च्याम्पियन्स बायर्न म्युनिखले आफ्ना स्टार फरवार्ड रोबर्ट लेवान्डोस्की क्लबमै रहने स्पष्ट पारेको छ। बायर्नका एक उच्च अधिकारीले लेवान्डोस्की बायर्नमै रहने स्पष्ट पारेका हुन्।

बायर्नका खेलकुद निर्देशक हसन सलिहमिदिजले एक अन्तर्वार्ताका क्रममा लेवान्डोस्की आउने ट्रान्सफर विन्डोमै अन्यत्र जाने सम्भावना नरहेको बताए। सन् २०२३ सम्मका लागि सम्झौता रहेका कारण लेवान्डोस्कीले समर ट्रान्सफर विन्डोमा क्लब छाड्न सक्ने सम्भावना नरहेको उनको भनाई छ।

“लेवान्डोस्कीले समर ट्रान्सफर विन्डोमा क्लब छाड्ने कुरै हुँदैन। लेवान्डोस्कीसँग सन् २०२३ सम्मका लागि सम्झौता छ। हामी बीच छिट्टै नै कुराकानी हुनेछ।”,सलिहमिदिजले स्काई जर्मनीलाई बताए।

विश्वकै उत्कृष्ट खेलाडीलाई गुमाउने पक्षमा बायर्न नरहेको उनले स्पष्ट पनि पारे। लेवान्डोस्की जस्तो खेलाडीलाई क्लबमै राख्ने आफूहरुको योजना रहेको उनले सुनाए। उनले लेवान्डोस्कीसँग छिट्टै कुराकानी हुने र सो कुराकानी पछि सबै कुरा स्पष्ट हुने बताए।

उनले भने,”हामीसँग विश्वका उत्कृष्ट खेलाडी छ्न्। हामी उनलाई गुमाउने पक्षमा छैनौँ। उनी हामीसँग भएकोमा हामीलाई गर्व छ। उनीसँग हामीले अझै वार्ता गरेका छैनौं । तयार छिट्टै नै गर्नेछौँ।”

सन् २०२३ मा सम्झौता सकिँदै गरेका लेवान्डोस्कीले बायर्न छाड्न चाहेको चर्चा केहि समय देखि चलिरहेको छ। लेवान्डोस्कीलाई क्याटलान क्लब बार्सिलोनाले भित्र्याउन चाहिरहेको बताइन्छ। बार्सिलोनाले उनलाई आउने ट्रान्सफर विन्डोमै भित्र्याउन चाहेको विभिन्न मिडियाहरु बताउँछन्।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९१०:५०

प्रिमियर लिग उपाधिको कहिले लाग्ला टुंगो ? सिटी र लिभरपुल मध्ये कसले जित्ला ?