प्रिमियर लिग उपाधिको कहिले लाग्ला टुंगो ? सिटी र लिभरपुल मध्ये कसले जित्ला ?

एजेन्सी – म्यानचेस्टर सिटी र लिभरपुल दुवै यति बेला प्रिमियर लिग जित्ने दौडमा छन्। सिटी र लिभरपुल बीच मात्रै एक अंकको अन्तर छ। सिजनका ३३ खेल खेलिसक्दा सिटीको ८० अंक छ भने लिभरपुलको ७९ अंक छ। जारी सिजनमा सिटीले तीन खेलमा हार बेहोर्दा लिभरपुलले मात्रै दुई खेल हारेको छ।

लिभरपुल प्रिमियर लिगमा गएको कयौं खेल देखि पराजित भएको छैन। लिभरपुल पछिल्लो पटक गत डिसेम्बरको अन्त्यमा पराजित भएको थियो। त्यसबेला लेस्टर सिटीले लिभरपुललाई १-० को गोल अन्तरले पराजित गरेको थियो। प्रिमियर लिगमा त्यसयता लिभरपुलले कुनै पनि खेलमा हारेको छैन।

त्यस्तै सिटी भने पछिल्लो पटक फेब्रुअरीमा टोटेनह्यामसँग पराजित भएको थियो। त्यसबेला टोटेनह्यामले सिटी विरुद्ध ३ गोल गर्दा सिटीले मात्रै दुई गोल गरेको थियो। त्यसयता सिटी प्रिमियर लिगमा पराजित भएको छैन।

केहि साता अगाडी मात्रै लिभरपुल र सिटी आमने-सामने भएका थिए। सो खेलमा दुवै टोलीको तर्फबाट २-२ गोल भयो। प्रिमियर लिगमा निर्णायक हुन सक्ने सो खेल बराबरीमा टुंगिएको थियो। दुवै टोलीले अब पाँच-पाँच खेल्न बाँकी छ।

सिटीले वुल्भ्स, लिड्स, न्यू क्यासल, वेस्टह्याम र एस्टन भिल्लासँग खेल्न बाँकी छ। त्यसमध्ये २ खेल सिटीले घरेलु मैदानमा खेल्नेछ। त्यस्तै लिभरपुलले भने म्यानचेस्टर न्यू क्यासल, टोटेनह्याम, एस्टन भिल्ला, साउथह्यामटन र वुल्भ्ससँग खेल्न बाँकी छ। ती मध्ये २ खेल लिभरपुलको घरेलु मैदानमा हुनेछन्।

दुवै टोलीलाई बाँकी रहेका पाँच खेल मध्ये कुनै पनि खेलमा हार्ने छुट हुने छैन। बाँकी रहेका कुनै पनि खेलमा बराबरी खेल्ने छुट पनि कुनै टोलीलाई हुने छैन। एक खेल पनि बिग्रिएको अवस्थामा प्रिमियर लिग उपाधि उम्किन सक्छ। यसकारण आउने पाँचै खेलमा दुवै टोली संयमित हुनेछन्।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९११:०६

पूर्व प्रशिक्षक भन्छन्-“लुका मोड्रिक भन्दा लाभी र इनिएस्टा कतै उत्कृष्ट भन्न मिल्दैन”