पोचेटिनो आउट, कोन्टे इन ?

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेलाई नयाँ प्रशिक्षकको रुपमा भित्र्याउन चाहेको खुलासा भएको छ। फ्रान्सबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरुले कोन्टेलाई पिएसजीले नयाँ प्रशिक्षकको रुपमा भित्र्याउन चाहेको खुलासा गरेका हुन्।

नयाँ सिजनका लागि पिएसजीले कोन्टेलाई भित्र्याउन चाहेको ले पेरिसियनले जनाएको छ। पिएसजी बोर्ड वर्तमान प्रशिक्षक मौरिसियो पोचेटिनोसँग सन्तुष्ट नरहेको र उनको ठाउँमा सम्भव भए कोन्टेलाई ल्याउन चाहेको ले पेरिसियनको दावी छ।

पोचेटिनो गत वर्ष मात्रै पिएसजी आएका हुन्। पिएसजीले उनलाई च्याम्पियन्स लिग जित्ने योजनालाई अगाडी बढाउन प्रशिक्षकको जिम्मेवारी दिएको थियो। तर उनले पिएसजीलाई च्याम्पियन्स लिगको अन्तिम १६ भन्दा अगाडी बढाउन सकेनन्। यहि कारणले गर्दा पिएसजी बोर्ड उनीसँग असन्तुष्ट छ।

यस्तै कोन्टे भने अहिले प्रिमियर लिग क्लब टोटनह्यामको प्रशिक्षक रहेका छन्। उनी गत नोभेम्बरमा मात्रै टोटनह्याम पुगेका हुन्। च्याम्पियन्स लिगका लागि छनौट भएको खण्डमा मात्रै टोटनह्याम बस्ने उनको योजना रहेको छ। विभिन्न बेलायती मिडियाहरुका अनुसार टोटनह्याम पुगेको केहि महिना देखि नै उनी त्यति सन्तुष्ट हुन सकिरहेका छैनन्।

जिदान नमाने मात्रै कोन्टे

पिएसजी गएको लामो समय देखि जिनेदिन जिदानको साथ खोजिरहेको छ। पिएसजीले जिदानलाई कयौं पटक क्लबको जिम्मेवारी सम्हाल्न आग्रह गरिसकेको छ। तर जिदान भने पिएसजीको कुनै पनि प्रस्तावमा सहमत हुन सकिरहेका छैनन्। जिदान आउने न आउने ठेगान नहुँदा पिएसजी अन्य विकल्पको खोजिमा जुटेको छ। कोन्टे पनि सोहि विकल्प मध्ये एक रहेको बताइन्छ।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९२१:३४

सिटी भर्सेस रियल: रियलले लिन सक्ला पछिल्लो हारको बदला ? खेल कुन च्यानलमा हेर्ने ?