एजेन्सी – पूर्व फुटबल खेलाडी कार्लोस टेभेजले म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड संयमित हुनुपर्ने अवस्था रहेको बताएका छन्। च्याम्पियन्स लिगमा रियल र सिटी आमने-सामने हुनु अगाडी एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा टेभेजले सिटीसँग रियल संयमित हुनुपर्ने बताएका हुन्।
अन्तर्वार्ताका क्रममा टेभेजले गएको दशकमे सिटी धेरै अगाडी बढेको बताए। पहिला सधै प्रिमियर लिगको ‘मिडटेबल’मा हुने टोली अहिले युरोपका शिर्ष क्लबहरुसँग प्रतिष्पर्धा गरिरहेको देखेर खुशी लाग्ने टेभेजको भनाई छ। टेभेजका अनुसार गएको एक दशकमा सिटीमा जे भएको छ, त्यो अचम्म लाग्दो छ।
“यस दश वर्षमा सिटीमा के भयो भनेर हेर्दा साँचै अचम्म लाग्दो छ। यो धेरै नै सन्तोषजनक छ। लिग तालिकाको बिचमा रहेर प्रतिष्पर्धा गर्ने हामी युरोपका शिर्ष क्लबहरुसँग प्रतिष्पर्धा गरिरहेका छौँ। यो भन्दा ठूलो कुरा के हुन सक्ला र ?”,टेभेजले भने।
सिटीका पूर्व खेलाडी समेत रहेका टेभेजले रियल मात्र नभई अन्य प्रतिष्पर्धीले पनि सिटीमा ध्यान दिनुपर्ने अवस्था रहेको बताए। उनले भने,”सिटी अहिले पूर्णतया फरक भएको छ। अहिले सिटीको सामना गर्न रियल डराउनुपर्ने अवस्था छ, संयमित हुनुपर्ने अवस्था छ। अहिले रहेका खेलाडीहरू र धेरै वर्षमा सिटीले निर्माण गरेको पूर्वाधारका आधारमा हामी युरोपको कुनै पनि टोलीसँग प्रतिष्पर्धा गर्न सक्ने भएका छौँ।”
युरोपको उत्कृष्ट टोलीहरूसँग सिटीले प्रतिष्पर्धा गरिरहेको देखेर आफूलाई धेरै खुशी लागेको पनि टेभेजले बताए। सिटीले अहिले सम्म च्याम्पियन्स लिग जितिनसकेको भएपनि रियलकै स्तरमा खेल प्रदर्शन गरिरहेको टेभेजको भनाई छ।