भिल्लारियल विरुद्ध जित निकालेपनि डराए क्लोप, भन्छन् – ‘यो खतरनाक स्कोर लाइन हो’

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले बुधबार राति युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलमाथि २–० को जित दर्ता गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

तर, एनफिल्डमा २–० को जितका बावजुत लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले च्याम्पियन्स लिगको सेमिफाइनल नसकिएको बताएका छन् ।

जर्मन प्रशिक्षक पेरिसमा हुने फाइनलमा पुग्नको लागि टोलीले डे ला सेरामिकामा अर्काे राम्रो प्रदर्शन गर्न आवश्यक रहेका बताएका छन् ।

‘मलाई पहिलो हाफ, धेरै मन पर्यो, तर हामीसँग गोलको अभाव थियो ।’ क्लोपले खेलपछि भने, ‘उनीहरुले हामीलाई दवाव बढाउन सक्थे, हामीले उनीहरुलाई नियन्त्रणमा राख्न निकै राम्रो खेल्यौं । तर, २–० एक खतरनाक स्कोर लाइन हो । यो पहिलो हाफ मात्रै हो ।’

‘अहिलेसम्म केही भएको छैन । हामीले पहिलो हाफ जस्तै दोस्रो हाफ खेल्नुपर्छ । हामी २–० ले अगाडि छौं । यो कठिन वातावरण हुनेछ ।’ क्लोपले भने, ‘यो फरक हुनेछ । हामीले यो टोलीलाई उनीहरुको प्रशिक्षकको लागि लडिरहेको देख्यौं र म पक्का छु कि उनीहरु फाइनलमा पुग्न लड्नेछन् ।’

दोस्रो लेग अर्काे साता भिल्लारियलको मैदानमा हुनेछ । लिभरपुललाई यही नतिजा फाइनल पुग्न पर्याप्त हुनेछ । भिल्लारियललाई फाइनल पुग्न कम्तीमा पनि ३–० को जितको खाँचो छ ।

साडियो मानेले भिल्लारियलविरुद्ध दोस्रो गोल गरे । यो सिजन सबै प्रतियोगितामा उनको यो २०औं गोल हो । २०२१–२२ मा थप उपाधि जित्दा आफुलाई बालोन डि’ओरको उम्मेदवार बनाउने क्लोपको विश्वास छ ।

मानेसँग उत्कृष्ट सिजन छ, तर बालोन डि’ओरसँग आफ्नो कुनै सरोकार नरहेको क्लोपले थपे । ‘माने विश्वस्तरीय हो, तर तपाईले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पनि रहेकाले बालोन डि’ओर जित्न ट्रफी पनि जित्नुपर्छ । माने उत्कृष्ट सिजनमा रहेका छन् ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१०:२७

ह्वात्तै घट्यो सुनको मूल्य, सुन महाशिवरात्रि यताकै सस्तो !