काठमाडौं – नेपालमा लुपसका बिरामीको संख्या बढ्दै जाँदा मिर्गौला फेल हुने, छालाको समस्या हुने, मुटु, कलेजो, जोर्नीको समस्याका बिरामीहरू ह्वातै बढेको लुपस नेपालले जनाएको छ ।
विश्व लुपस महिनाको अवसर पारी लुपस नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा लुपसका बिरामी संख्या बढ्दै गएको जानकारी दिइएको हो । लुपस एक प्रकारको निको नहुने तर समयमै रोग पहिचान भएमा रोकथाम गर्न सकिने जोर्नीसम्बन्धी दुखाइ हुने दीर्घ रोग हो ।
कार्यक्रममा बाथरोग विशेषज्ञ डा. बुद्धि पौडेलले लुपसको पहिचान गर्न अहिले पहिलाजस्तो गाह्रो नभए पनि १५ देखि ४५ वर्ष उमेर समूहका युवा महिलामा यो रोग बढी देखिने भएकाले समयमै सचेत हुनुपर्ने बताउनुभयो ।
डा. पौडेलले १५ वर्षदेखिको आफ्नो अनुभव सुनाउँदै भन्नुभयो–‘लुपसका बिरामी चाँडै थकित हुने गर्छ । यो महासागरजस्तै ठूलो समस्या हो । यस विषयमा नेपाल सरकारको ध्यान पुग्नुपर्छ । लुपसको उपचार अत्यन्तै महगो र जीवनभरि औषधि सेवन गर्नुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूका लागि यो उपचार प्रायः असम्भव हुने हुनाले नेपाल सरकारले यस्ता समस्याका विषयमा अध्ययन अनुसन्धान गरी बिरामीका लागि सहज वातावरण बनाउन जरुरी छ ।’
डा. पौडेलले लुपसका बिरामीले औषधि प्रयोग गर्न छोड्नु भनेको दुःख निम्त्याउनुजस्तै हुने भएकोले बिरामीका लागि आवश्यक पर्ने औषधि उपचार सहज र सर्वसुलभ बनाउन सरकारको ध्यान पुग्नु जरुरी भएको बताउनुभयो ।
कतिपय अवस्थामा वातावरणका कारणले पनि मानिसमा लुपस हुने गर्दछ भने कसैमा वंशाणुगत रूपमा पनि लुपस हुने गर्छ ।
लुपसका बिरामीलाई भिटामिन डीको कमी हुन्छ तर उनीहरूले घामसँग जोगिनुपर्ने हुनाले भिटामिन डी महिनामा एकपटक प्रयोग गर्नुपर्ने डा.पौडेल बताउनुहुन्छ । यसका साथै शारीरिक, मानसिक रूपमा लुपसका बिरामीलाई बढी नै आराम जरुरत पर्ने उहाँले बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष हेमन्त पौडेलेले यो रोग रगत र पिसाव परीक्षणबाट पत्ता लाग्ने जानकारी दिनुभयो । लुपसको औषधि अत्यन्तै महगो हुनुका साथै नेपालमा सहज उपचार नहुँदा अधिकांश नेपालीहरू छिमेकी मुलुक भारतमा उपचार गराउन बाध्य भएको जिकिर गर्दै उहाँले भन्नुभयो–‘ सरकारले लुपसका बिरामीलाई सहयोग गरेको छैन । हामी संस्थागत रूपमा सरकारलाई घच्घच्याउने तयारीका साथ लागि परेका छौ ।’
-नेपाल समाचारपत्रबाट

