
सुनिता डंगोल रैथाने सभ्यता बोकेको ज्यापु समुदायकी प्रतिक हुन् । बालेन साह मधेसको तेली समुदायका युवा हुन् । बालेनका हजुरबुबाले २००७ सालको जनक्रान्तिका बेला जनकपुर क्षेत्रमा ठूलो योगदान पुर्याएका थिए । बालेनका पिता डा.रामनायण साहको पनि नेविसंघ र नेपाली कांग्रेसमा धेरै ठूलो योगदान छ । जनकपुर उपमहानगरपालिकाभित्र कांग्रेस तथा मधेसीदलको राजनीति बालेन साहको परिवारको वरिपरि नै घुमिरहेको छ । मधेसी समुदायको युवाले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका रूपमा यति ठूलो चर्चा पाएको नेपालको इतिहासमै पहिलो घटना हो ।
आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा काठमाडौं महानगरका केही घटनाहरू निकै पेचिला छन् । उदाहरणका लागि मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मध्ये सुनिता डंगोल र बालेन साह धेरै नै चर्चामा थिए । तर कम्युनिस्ट पारिवारिक पृष्ठभूमिकी सुनिता डंगोललाई नेकपा एमालले टपक्क टिपेर उपमेयर पदमा उम्मेदवार बनायो । यता प्रजातान्त्रिक पृष्ठभूमिका बालेन साहलाई कुनै पनि पार्टीले वास्ता गरेनन् । यसको मुख्य कारण हो सुनिता डंगोल रैथाने सभ्यता बोकेको ज्यापु समुदायकी प्रतिक हुन् । तर बालेन साह मधेसको तेली समुदायका युवा हुन् । बालेनका हजुरबुबाले २००७ सालको जनक्रान्तिका बेला जनकपुर क्षेत्रमा ठूलो योगदान पु¥याएका थिए । बालेनका पिता डा. रामनायण साहको पनि नेविसंघ र नेपाली कांग्रेसमा धेरै ठूलो योगदान छ । जनकपुर उपमहानगर पालिकाभित्र कांग्रेस तथा मधेसीदलको राजनीति बालेन साहको परिवारको वरिपरि नै घुमिरहेको छ ।
मधेसी समुदायको युवाले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका रूपमा यति ठूलो चर्चा पाएको नेपालको इतिहासमै पहिलो घटना हो । युवा जगतमा अत्यन्त लोकप्रिय छन् बालेन । काठमाडौंका चार जना युवाहरूलाई सोध्ने हो भने एक जनाले बालेनको पक्ष लिएको देखिन्छ । यो भनेको जित्न पुग्ने भोट हो । तर बालेनको पक्षमा जुटेका करिब ९५ प्रतिशत युवा काठमाडौं महानगरपालिकाका मतदाता होइनन् । त्यसो त काठमाडौं महानगरपालिकामा करिब १० हजार भोट मधेसी समुदायको छ । यति हुँदाहुँदै पनि नेपाली कांग्रेसले बालेनलाई अघि बढाउने हिम्मत गरेन । किनकी अघिल्ला पटकका दुई वटा स्थानीय निर्वाचनबाट नेपाली कांग्रेसले मज्जाले पाठ सिकेको देखिन्छ ।
गत स्थानीय तहको निर्वाचनमा रन्जु दर्शनाले जुन ठाउँ ओगटेकी थिइन्, त्यो ठाउँ बालेनले ओगट्ने अड्कलबाजी धेरैले गरेका छन् । यदि यो अड्कलबाजी सही ठहरियो भने कांग्रेसकी सिर्जना सिंहका विरुद्ध शक्ति केन्द्रले निकै ठूलो चलखेल गरेको पुष्टि हुन्छ ।काठमाडौं उपत्याकाको रैथाने सभ्यता बोकेको समुदायले अन्य समुदायका राजनीतिकर्मीहरूलाई भन्ने गरेको छ, ‘हाम्रो विकास हामी आपँैm गर्न सक्षम छौँ, विगतमा गरेर देखाएका पनि हौँ, तपाईंहरू आफ्नै थातथलोलाई अलपत्र पारेर किन काठमाडौं ताक्नुहुन्छ ?’ हुन पनि यो प्रश्न कम पेचिलो छैन । बालेनकै उदाहरण लिने हो भने पनि उनले काठमाडौंको मेयरमा दावी गर्नका लागि इन्जिनियरिङको पढाइलाई आफ्नो मुख्य योग्यता भनेका छन् । तर, इन्जिनियरहरूको कमी काठमाडौंको रैथाने समुदायमा छैन । उता मधेस क्षेत्रले भने इन्जिनियरकै अभाव बेहोरिरहेको छ । काठमाडौं बाहिर डाक्टर र इन्जिनियर नजाने समस्याका कारण पनि नेपालको विकास अवरुद्ध भएको हो कि ? भन्ने बहसलाई नजरअन्दाज गर्न मिल्दैन ।
तर कुनै मधेसीले काठमाडौंको मेयरमा चुनाव जित्नु या नजिते पनि सम्मानित भोट ल्याउनु भनेको नेपालका लागि सानो उपलव्धी हुँदैन । किनकी मधेसी दलका नेताहरूले आफ्नो नारामा भन्ने गरेका छन्, ‘काठमाडौंमा मधेसीहरूलाई खुब हेप्ने गरिन्छ ।’ यो कुरा विचरा सिधासाधा मधेसीहरूले पत्याइरहेका छन् । यदि बालेनले चुनाव जित्ने वा सम्मानजनक भोट ल्याउने हो भने, मधेसीदलहरूले अघि सारेको साम्प्रदायिक राजनीति विसर्जन हुनेछ ।
तर, काठमाडौंको मेयर पदमा गैरनेवार समुदायको व्यक्तिले चुनाव जित्न सहज नभएको इतिहास छ । यसका खास कारणहरू छन् । काठमाडौं महानगरपालिका देशको संघीय राजधानी त हुँदै हो, तर काठमाडौंको पहिचान देशको राजधानीका रूपमा मात्रै सीमित छैन । धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको सहर पनि हो । काठमाडौंका मानव निर्मित धेरै संपदाहरूलाई संयुक्त राष्ट्रसंघले विश्व सम्पदा सूचीमा राखेको छ । मानव निर्मित सम्पदाहरू मात्रै होइनन् काठमाडौंका रैथानेहरूले निरन्तरता दिँदै आएको संस्कृति पनि पुरातात्विक भन्दा अझै माथि छ ।
२००७ सालको जनक्रान्ति अघिसम्म नेपाल भनेर काठमाडौं उपत्यकालाई मात्रै चिनिन्थ्यो । कुनै बेला नेपाल राज्य काठमाडौं उपत्यकाका चार भन्ज्याङभित्र मात्रै सीमित भएको इतिहास पनि पाइन्छ । विश्वमा नेपालले गर्व गर्न लायक सम्पदा तथा संस्कृति काठमाडौं उपत्यकामा मात्रै छन्भन्दा पनि खासै फरक पर्दैन । लिच्छिवी तथा मल्लकालमा बनेका भौतिक पूर्वाधारहरू यसका साक्षी हुन् । उपत्यकाका रैथानेहरूले मनाउँदै आएका चाड, पर्व, मेला, जात्रा पनि यसका साक्षी हुन् । विदेशी पर्यटकहरू नेपाल आउने भनेको हिमाल चढ्न मात्रै होइन, हिमालहरू त अरू देशमा पनि छन्, तर काठमाडौंका जस्ता पुरातात्विक सम्पदा तथा काठमाडौंको जस्तो पुरानो जीवन्त संस्कृति विश्वमा कहीँ पनि छैन ।
लिच्छवीकालमा र मल्लकालको सुरुआती समयमा नेपाल विश्वका १० वटा धनी, विकसित र सुसंस्कृत देशहरूको सूचीमा पथ्र्यो भन्ने कुरा बुझ्न इतिहास पढ्नै पर्दैन । उपत्यका भित्रका संरचना हेर्ने हो भने पनि पुग्छ । लिच्छवी काल तथा मल्लकालमा काठमाडौं उपत्यकाका तीन सहरहरूमा सडकको व्यवस्था जति राम्रो थियो, त्यति राम्रो विश्वमा कहीँ पनि थिएन, खानेपानीको व्यवस्थापन काठमाडौं उपत्यकाका तीन सहरमा जति समुन्नत थियो, त्यति समुन्नत विश्वका अन्य कुनै पनि सहरमा थिएन । कला कौशलको कुरा गर्ने हो भने त बुढानीलकण्ठको मूर्ति तथा पाटनको कृष्ण मन्दिरको संरचना हेर्ने हो भने पनि पुष्टि हुन्छ । त्यतिबेला नेपाल उपत्यकाको जत्तिको इन्जिनियरिङ पद्धति विश्वमा कहीँ पनि नभएको प्रष्ट हुन्छ ।
यति ठूलो ऐतिहासिक तथा पुरातात्विक गौरव बोकेको तीन सहर नेपाल कहिलेदेखि खस्कन थाल्यो ? के कारणले खस्कन थाल्यो ? अझै खस्कँदै गयो भने नेपालको अवस्था के होला ? कम्तीमा पनि आशन्न स्थानीय निर्वाचनमा मतदान गर्नुअघि काठमाडौंका मतदाताले यी प्रश्नहरूको उत्तर थाहा पाउनु जरुरी छ ।
नेपाल उपत्यकाको सभ्यता तथा संस्कृतिभन्दा बाहिरका मानिसहरूको शासन सत्ताले यहाँको सम्पदालाई पारेको प्रभावका बारेमा पनि कहिलेकाहीँ बहस हुने गरेको छ । नेपाल उपत्यकाको राजनीतिक इतिहास निकै पेचिलो छ । लिच्छवी शासकहरू पनि उपत्यकाका रैथाने थिएनन् । तर, उनीहरू केही पुस्ताभित्रै यहीँको नेवा सभ्यतामा समाहित भए । मल्ल शासकहरू पनि उपत्यकाका रैथाने थिएनन्, मधेसी थिए, तर कालान्तरमा मल्ल शासकहरू पनि यहीँको नेवा सभ्यतामा समाहित भए ।
एकीकरणपछि नेपालमा शाह राजाहरूको शासन सुरु भयो, तर शाह राजाहरू नेवा सभ्यतामा समाहित हुन सकेनन् । एक हिसाबले भन्नुपर्दा शाह राजाहरू र नेवा सभ्यताबीच सधँै टक्कर चलिरह्यो । शाह राजाहरूको शासन सुरु भएपछि काठमाडौंका तीन सहरको मौलिक विकासमा पूर्णविराम लाग्यो । तर, साविकका सम्पदा तथा संस्कृतिको संरक्षणलाई अवरुद्ध बनाउन भने शाह राजाहरूको शासनले पनि सकेन । बरु देखाबटीरूपमै भए पनि केही सम्पदा, संस्कृति तथा जात्रा पर्वहरूको संरक्षणमा राज्यको संलग्नतालाई निरन्तरता दिइयो । इन्द्रजात्रा, भोटो जात्रा, भैरव जात्रा लगायतका चाडपर्वमा राजाको सहभागिता हुने प्रचलनलाई शाह राजाहरूले पनि निरन्तरता दिए । तर शाह राजाहरूसँग उपत्यकाका रैथानेहरू कहिल्यै खुसी भएनन् ।
राणाशासन हटाउन होस् या गणतन्त्र स्थापनाका लागि होस्, काठमाडौंका रैथानेहरूको योगदान तथा सहभागिता अन्य समुदायको भन्दा बढी छ । उपत्यकाका रैथानेहरूलाई रिझाउन शाह राजा तथा राणाहरूले पनि प्रयास नगरेका भने होइनन् । त्यतिबेला राणा शासकहरूले सर्वसाधारण जनता पनि पुग्न सक्ने सर्वोच्च पद सिर्जना गरेका थिए । त्यो पद हो बडाकाजी । श्रीपेच लगाउन पाउने इजाजत भएको उक्त पदमा पुगेका थिए बडाकाजी रत्नमान सिंह । तर रत्नमानको काखमै बसेर उनका नाती गणेशमान सिंहले राणा शासन ढाल्ने आन्दोलनको अगुवाइ गरे । गणेशमान सिंह राणा शासनको अन्त्यका मामिलामा मात्रै होइन गणतन्त्रको मामिलामा समेत स्पष्ट थिए । ०४७ सालको संविधान निर्माणका क्रममा काठमाडौं उपत्याकाका रैथानेहरूले धर्म निरपेक्षताको आवाज अघि सार्दा गणेशमान सिंहले भनेका थिए, ‘हिन्दू राजतन्त्र रहेको देशमा धर्म निरपेक्षता संभव छैन, धर्म निरपेक्षताका लागि अझै १५÷२० वर्ष पर्खनुपर्छ ।’
०४६ सालको जनआन्दोलन गणेशमान सिंहकै नेतृत्वमा भएको हो । पञ्चायती व्यवस्था ढाल्न गणेशमानको सर्वोपरी भूमिकाका विषयमा दुई मत छैन, तर उनी ०४६ सालको जनआन्दोलनका उपलव्धीलाई मात्रै चित्त बुझाएर बसेका थिएनन् भन्ने कुरा स्पष्ट हुन्छ । उनले नेपाली कांग्रेस पार्टी किन छाडे ? भन्ने प्रश्नको उत्तर नखोजेसम्म, मुलुकमा गणतन्त्र किन र कसरी आयो ? भन्ने प्रश्नको स्पष्ट उत्तर पाउन सकिन्न ।
गणेशमानले आँकलन गरेकै समयावधिभित्र मुलुकमा गणतन्त्र आएको छ । गणतन्त्रको मुख्य उपलव्धी भनेकै अधिकार सम्पन्न स्थानीय सरकार हो । नेपालमा ७ सय ५३ वटा स्थानीय सरकारहरू छन् । तिनै ७ सय ५३ मध्येका हुन् काठमाडौं, महानगरपालिका, ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिका । यी तीन सहरका मेयर भनेका त्यतिबेलाका मल्ल राजाहरू जस्तै हुनुभन्दा पनि फरक नपर्ला । फरक के हो भने त्यतिबेलाका मल्लराजाहरू सांस्कृतिक प्रमुख जस्ता मात्रै थिए, तर यतिबेलाका मेयरहरू भनेका विकास तथा शासन प्रमुख बनेका छन् । सांस्कृतिक प्रमुखको भूमिकामा यी तीन सहरका मेयरहरू अझै आउन सकेका छैनन् । अझै पनि जात्रा पर्वहरूमा शाह राजाको ठाउँमा राष्ट्रपति सहभागी हुने परम्पराले निरन्तरता पाइरहेको छ । राष्ट्रपति पदमा नेवा सभ्यताभन्दा बहिरका मान्छे मात्रै होइन इशाई तथा इस्लाम धर्मावलम्वीहरू पनि पुग्ने संभावना रहन्छ । त्यसैले राष्ट्र प्रमुखको सट्टा मेयरले नै सांस्कृतिक नेतृत्व गर्नु उपयुक्त हुने धारणा काठमाडौंका रैथानेहरूको रही आएको देखिन्छ ।
काडमाडौं उपत्यकाका तीन सहरका रैथानेहरूले आफ्नो सभ्यताभन्दा बाहिरको व्यक्तिलाई मेयर पदमा चुनाव जिताएका घटनाहरू खासै छैनन् । उदाहरणका लागि ०४९ सालमा कांग्रेसका पिएल सिंहले करिब २० हजार मतको अन्तरमा चुनाव जिते, तर ०५४ सालको निर्वाचनमा कांग्रेसकै मनमोहन भट्टराईले ३० हजार भोटको अन्तरले चुनाव हारे । यसैगरी ०७० सालको आमनिर्वाचनमा काठमाडौंका निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारहरूले एमालेका उम्मेदवारभन्दा आठ हजार मत बढी ल्याएका थिए, तर ०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका मेयर पदका उम्मेदवार राजु जोशीले करिब २० हजार मत अन्तरले चुनाव हारे भने कांग्रेसकै डिपुटी मेयर पदकी उम्मेदवार हरिप्रभा खड्गीले करिब ३० हजार मत अन्तरले चुनाव जितिन् ।
राजधानी काठमाडौं उपत्यकाको प्रश्न मात्रै होइन यो । आफ्नो सभ्यता तथा संस्कृतिभन्दा बाहिरको व्यक्तिलाई रैथानेहरूले हतपत भोट दिँदैनन् । जहाँ रैथाने सभ्यता समुदायको निर्णायक मत छैन, वा उनीहरू संगठित छैनन्, त्यहाँ मात्रै बाहिरकोले चुनाव जित्ने गरेको देखिन्छ । तर, काठमाडौंका तीन सहरको हकमा रैथाने सभ्यता समुदायको बहुमत छ र रैथाने सभ्यता बोकेको समुदाय संगठित पनि छ ।