सिटी विरुद्ध कमाल गरेका रोड्रिगोलाई पेलेको बधाई ! के भने ?

एजेन्सी – फुटबल लेजेण्ड पेलेले रियल म्याड्रिडका युवा खेलाडी रोड्रिगोलाई बधाई दिएका छन्। च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटी विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका रोड्रिगोलाई पेलेले बधाई दिएका हुन्।

बुधबार राति भएको खेलमा रियलले रोड्रिगोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटी विरुद्ध पुनरागमन जित निकालेको थियो। सो खेलमा रोड्रिगोले महत्वपूर्ण दुई गोल गरेका थिए। एक गोलले पछि परेको भएपनि रोड्रिगोले खेलको अन्तिम समयमा दुई गोल गर्न सफल भएका थिए। रोड्रिगोको गोलकै कारण रियल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।

पेलेले सामाजिक संजाल मार्फत रोड्रिगोलाई मात्र नभई रियल म्याड्रिडलाई पनि बधाई दिएका छन्। बधाई दिनेक्रममा पेलेले यस्तो दिन आउँछ भन्ने आफूले पहिला नै सोचेको पनि उल्लेख गरेका छन्।

“मलाई सधैं थाहा थियो तिमीलाई बधाई दिने दिन पक्का आउनेछ। कडा परिश्रम गर्ने र आफूले गरेको कामलाई माया गर्नेहरूका लागि अर्को कुनै बाटो छैन। तिमी प्रबुद्ध छौ र अझै पनि हामीलाई धेरै खुशीहरू दिनेछौँ।”,पेलेले सामाजिक संजालमा लेखेका छन्।

पेलेको तर्फबाट यस्तो सार्वजनिक सन्देश प्राप्त भएपछि रोड्रिगोले पेलेलाई धन्यवाद फर्काएका छन्। उनले पेलेका सल्लाहलाई कहिल्यै नबिर्सिने प्रण पनि गरेका छन्।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९०९:४८

लिभरपुल भर्सेस रियल: च्याम्पियन्स लिग फाइनल अगाडी दुवैले कसको-कसको सामना गर्दैछन् ?