रियल म्याड्रिडसँगको युइएफए च्याम्पियन्स लिगको फाइनल खेलअघि लिभरपुलका मोहम्मद सलाह उत्साहित भएका छन्। यी दुई टोली च्याम्पियन्स लिगको फाइनलमा पेरिसमा मे २८ मा एक अर्काको सामना गर्दैछन्। जुन २०१८ को फाइनलको रिम्याच हुनेछ, जुन खेल लस ब्लान्कोसले ३-१ ले जितेको थियो।

२०१८ को फाइनलमा खेल सुरु भएको ३० मिनेटमै सर्जियो रामोसले घाइते बनाएका सलाह पुन: रियल म्याड्रिडसँग खेल्न पाउँदा उत्साहित छन्। आफ्नो FWA प्लेयर अफ द इयर अवार्ड सङ्कलन गर्दा, उनले फेरि एक पटक रियल म्याड्रिडको सामना गर्न मन लागेको बताएका थिए। उनले भने,“मैले भनेको थिएँ कि म फाइनलमा रियलसँग खेल्न चाहन्छु। म पक्का छु कि यो कठिन खेल हुनेछ। उनीहरूले धेरै राम्रा टोलीहरूलाई हराए तर म उत्साहित छु। टोली उत्साहित छ। हामी केन्द्रित रहन आवश्यक छ। हामीले पहिले लिग समाप्त गर्नुपर्छ, त्यसपछि हामी हेर्नेछौं।
इजिप्टियन, रेड्ससँगको आफ्नो पहिलो सिजनमा, रामोसले फाउल गर्दा उनको काँधमा चोट लागेको थियो। अन्ततः ३-१ ले हारेको योर्गेन क्लोपको टोलीका लागि यो ठूलो झट्का थियो। त्यसको एक वर्षपछि फाइनलमा टोटनह्यामलाई पराजित गर्दै लिभरपुलले आफ्नो छैठौं च्याम्पियन्स लिग जितेपनि २०१८ को फाइनल खेलमा हारले अझै पनि सालाहलाई चोट पुर्याएको देखिन्छ।

रियल र लिभरपुल बीच फाइनल खेल हुने पक्का भएपछि सलाहको दिमागमा बदला बाहेक केही रहेको छैन। २९ वर्षीयाले थपे: “हो। यो बदला लिने समय हो। उनीहरूले हामीलाई अन्तिम पटक फाइनलमा हराए। त्यो हामी सबैको लागि धेरै दुखद दिन थियो, त्यसैले हो।”
“हामीले पहिले प्रिमियर लिगमा ध्यान केन्द्रित गर्नुपर्छ। हामीसँग चार खेल बाँकी छ र सिटीसँग पनि। हामी चाहन्छौं कि सिटीले अंक ड्रप गरोस्। हामीले केवल स्पर्स खेलमा ध्यान केन्द्रित गर्न आवश्यक छ र त्यसपछि अगाडी बढ्नु पर्छ,” उनले थपे।

लिभरपुल र रियल म्याड्रिड तेस्रो पटक युरोपेली कप/च्याम्पियन्स लिगको फाइनलमा भिड्नेछन्, जुन प्रतियोगितामा सबैभन्दा दोहोरिने फाइनल हो।

