एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग केलियन एमबाप्पेले नयाँ सम्झौता नविकरण गरेको दाबीलाई उनकी आमाले अस्वीकार गरेकी छिन् ।
फ्रान्सेली पत्रिका ले पेरिसियनले पिएसजी र एमबाप्पेको परिवारबीच सम्झौता नविकरणको नजिक पुगेको समाचार प्रकाशित गरेको थियो । तर एमबाप्पेकी आमा फायजा लामारीले दाबीलाई झुट्टो भएको बताएकी छिन् ।
‘सम्झौता नविकरणको चर्चा पूर्ण रुपमा गलत हो’, उनले भनेकी छिन् । एमबाप्पेकी आमाले आफ्नो छोराको पहिलो विकल्प रियल म्याड्रिड भएको पनि प्रष्ट पारेकी छिन् । फ्रान्सेली सञ्चारमाध्यमले भने एमबाप्पेले दुई सिजनका लागि वार्षिक ५० मिलियन युरो प्राप्त गर्ने र अर्को विकल्प पनि त्यसमा रहेको बताइएको छ ।
सम्झौता नविकरण गरेवापत उनलाई थप एक सय मिलियन युरो पनि दिइने बताइएको छ । पिएसजीले स्पोर्टिङ प्रोजेक्टका लागि पनि एमबाप्पेलाई मनाएको दाबी गरिएको छ । अर्कोतर्फ रियल भने एमबाप्पेसँग सम्झौता हुनेमा आशावादी रहेको बताइन्छ । एमबाप्पेको पिएसजीसँगको सम्झौता यसै सिजन सकिँदैछ ।