एजेन्सी – दुई गोलले पछि परेको स्थिति उल्ट्याएर इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार पूनरागमन जित निकाल्दै उपाधि यात्रालाई जीवितै राखेको छ । घरेलु मैदानमा इन्टरले इम्पोलीलाई ४–२ ले पराजित गर्दै शीर्षस्थानमा उक्लदै च्याम्पियन बन्ने सम्भावना बलियो बनाएको हो ।
मिलानोमा शनिबार राति भएको खेलमा इन्टरको पुनरागमन जितमा लोउटारो मार्टिनेजले दुई तथा एलेक्सिस साञ्चेजले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । इम्पोलीका एन्ड्रिया पिनामोन्टी र क्रिस्टजन एस्लानीले गोल गरे ।
खेलको पाँचौं मिनेटमा एन्ड्रिया पिनामोन्टीले गोल गरेपछि इन्टर सुरुवाती समयमै पछि प¥यो । २८औं मिनेटमा क्रिस्टजन एस्लानीले गोल गर्दै इम्पोलीको अग्रता दोब्बर पारे । त्यसपछिको इन्टरले पूनरागमन गर्दा चार गोल गर्दै जित निकाल्न सफल भयो ।
४०औं मिनेटमा सिमोन रोमागनोलीले आत्मघाती गोल गरेपछि इन्टरको खेलमा फर्कन आशा पलायो । ४५औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई पहिलो हाफका २–२ गोलको बराबरीमा ल्याए ।
६४औं मिनेटमा मार्टिनेजले व्यक्तिगता दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि इन्टरले खेलमा ३–२ को अग्रथा लिन सफल भयो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा एलेक्सिस साञ्चेजले गोल गर्दै इन्टरलाई पूनरागमन जित दिलाए ।
यो जितसँगै शीर्षस्थानमा उक्लिएको इन्टरको ३६ खेलबाट ७८ अंक पुगेको छ । एक खेल कम खेलेको एसी मिलानको ७७ अंक छ । पराजित इम्पोली ३७ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

