घरदैलोका क्रममा उम्मेदवारलाई विष खुवाइएपछि …

सर्लाही । आफ्ना उम्मेदवारलाई विष खुवाएको आरोप लगाउँदै सर्लाहीको हरिवनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रदर्शन गरेका छन् । माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना उम्मेदवार मो. शेख इस्तिहारलाई विष खुवाइएको आरोप लगाएका हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

स्थानीय तहको आगामी निर्वाचनमा इस्तिहार सर्लाहीको हरिवन नगरपालिका–११ को वडाअध्यक्षको उम्मेदवार हुन् । माओवादी केन्द्रका कार्यकर्ताले निर्वाचन प्रचारप्रसारका क्रममा इस्तिहारलाई विपक्षी उम्मेदवारको योजनामा विष खुवाइएको आरोप लगाएका छन् ।

आइतबार विहान हरिवन–११ मा माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रमका क्रमका वडाध्यक्षका उम्मेदवार इस्तिहारलाई विष खुवाइएको उनीहरूको आरोप छ । उनीहरूले एमाले उम्मेदवारको योजनामा विष खुवाएको आरोप लगाएका छन् । विषका कारण वडाध्यक्षका उम्मेदवार इस्तिहारसहित ६ जना बिरामी परेका छन् । बिरामी हुनेमा मोहम्मद रिजवान, ओमप्रकाश साह, शेख आरिफ, पूर्णिमा कार्की र दिलीप खड्का रहेका छन् । वडाध्यक्षका उम्मेदवार इस्तिहारको अवस्था गम्भीर रहेको बताइएको छ ।

इस्तिहारलाई थप उपचारका लागि वीरगञ्ज लगिएको छ । त्यसअघि उनलाई हरिवनको स्वाभिमान अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । माओवादी केन्द्रका कार्यकर्ताले घटनाको विरोधमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण हरिवन बजार तनावग्रस्त बनेको थियो ।

घरदैलो कार्यक्रमका क्रममा गाउँलेले दिएको ‘सगुन’ खाँदा उनीहरू बिरामी परेका थिए । भोट माग्दै जाँदा हरिवनका गाउँका स्थानीयहरूले उम्मेदवारसहितका निर्वाचन प्रचारप्रसारमा रहेका टोलीलाई ‘सगुन’ भन्दै खानेकुरा खान दिएका थिए । प्रहरीले घटनाको छानबिन भइरहेको जनाएको छ ।

यसैबीच, नेपाल प्रहरीले चुनावी घरदैलो कार्यक्रमका क्रममा दलका नेता, उम्मेदवार तथा कार्यकर्तालाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव हुने गरेको र सो खाएपछि बिरामी पर्ने गरेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

प्रहरीले आइतबार सार्वजनिक सूचना जारी गर्दै सगुन सेवनपछि कोही बेहोस हुने र कोही चक्कर लागेर लड्नेजस्ता घटनाहरू भएको पाइएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

प्रकाशित : सोमबार, बैशाख २६, २०७९०८:५०

चुनावको दिन सिनेमा हल खुल्छन् कि खुल्दैनन् ?