एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले क्लबका तीन खेलाडीका लागि यो सिजन सकिएको बताएका छन्। प्रिमियर लिग अन्तर्गत न्यूक्यासल विरुद्ध खेलेपछि गार्डिओलाले क्लबका तीन खेलाडीका लागि यो सिजन सकिएको बताएका हुन्।
सिटीको आधिकारिक ट्वीटर पेजसँग कुराकानी गर्नेक्रममा गार्डिओलाले घाइते भएका कारण तीन खेलाडीले यो सिजन गुमाउने बताए। गार्डिओलाका अनुसार काइल वाकर, जोन स्टोन्स र रुबेन डियासका लागि यो सिजन सकिएको छ।
आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासललाई ५-० को गोल अन्तरले पराजित गर्यो। सिटीका लागि रहिम स्टर्लिङले २ गोल गर्दा एमरिक लापोर्टे, राड्री र फिल फोडनले एक-एक गोल गरे।
सो खेलमा गार्डिओलाले डियासलाई पहिलो हाफ पछि प्रतिष्थापन गर्न परेको थियो। त्यस्तै ह्यामस्ट्रिङको चोट रहेका स्टोन्स अझै निको भइसकेका छैनन्। साथै वाकर घुँडाको समस्याबाट पीडित छन्।
सिटी अहिले प्रिमियर लिगको पहिलो स्थानमा रहेको छ। सिटीले सिजनका तीन खेल मात्रै खेल्न बाँकी छ। दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा सिटी ३ अंकले अगाडी छ। सिजनका तीन खेल बाँकी रहँदा सिटीलाई केहि घाटा पुग्न सक्छ।