एस्टन भिल्लामाथि लिभरपुलको जित, अंक दूरी छोट्यायो !

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुलले एस्टन भिल्लामाथि रोमाञ्चक जित निकालेको छ । लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकाल्दै उपाधि होडमै कायम रहेको हो ।

भिल्ला पार्कमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा जोएल मटिप र साडियो मानेले गोल गरे । घरेलु टोलीका डुगलस लुइजको गोल सान्त्वना बन्यो ।

खेलको तेस्रो मिनेटमा नै डुगलस लुइजको गोलबाट लिभरपुल पछि परेको थियो । लुकास डिग्नेको क्रसमा लुइजको हेडर गोलरक्षक एलिसन बेकरबाट रिवाउन्ड हुँदा उनले जाली चुमाउन सफल भएका थिए । छैटौं मिनेटमै लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो । जोएल मटिपले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि घरेलु टोलीलाई लगातार दवावमा राखेको लिभरपुलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६५औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई महत्वपूर्णजितसहित ३ अंक दिलाए । उनले लुइस डियाजको पासमा गोल गर्न सफल भए ।

यो जितसँगै उपाधि दौडमा कायम रहेको लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रोमा यथावत रहेको छ । लिभरपुलको ३६ खेलबाट ८६ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको पनि त्यति नै अंक छ ।

अब लिगमा सिटीले तीन तथा लिभरपुलले २ खेल खेल्न बाँकी छ । पराजित भिल्ला ४३ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९०८:३२

बार्सिलोनाको सानदार जित, चम्किए औवामियाङ !