एजेन्सी – गावोनका फरवार्ड पिएरे इमरिक औवामियाङको दुई तथा डच फरवार्ड मेम्पिस डिपाएको गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ ।
बार्सिलोनाले घरेलु मैदानमा सेल्टा डि भिगोलाई ३–१ ले पराजित गरेको हो । सेल्टाका लागो आस्पासले एक गोल फर्काए । क्याम्प नोउमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले खेलको ३०औं मिनेटमा मेम्फिस डिपाएको गोलबाट सुरुवाती अग्रता लिएको थियो । उनले औसमाने डेम्वेलेको पासमा गोल गर्न सफल भएका थिए ।
४१औं मिनेटमा औवामियाङले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४८औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । उनले डेम्वेलेकै पासमा गोल निकालेका थिए ।
त्यसको दुई मिनेटपछि लागो आस्पासले गोल गर्दै सेल्टाको आशा कायमै राखेपनि ५८औं मिनेटमा१० खेलाडीमा समेटिन पुग्दा टोली समस्यामा पर्यो । जेइसन मुरिल्लो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा टोली खेलमा फर्कन सकेन । बार्सिलोनाले पनि पाहुना टोलीविरुद्ध त्यसपछि भने गोल निकाल्न सकेन ।
यो जितसँगै बार्सिलोनाले यो सिजन दोस्रो स्थानमा रहने सम्भावना बलियो बनाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३६ खेलबाट ७१ ऋंक पुगेको छ । च्याम्पियन बनिसकेको रियल म्याड्रिडको ३५ खेलबाट ८१ अंक छ ।
तेस्रो स्थानको सेभियाको ६५ तथा चौथो स्थानको एट्लेटिको म्याड्रिडको ६४ अंक छ । दुवैले बार्सिलोनाले भन्दा एक खेल कम खेलेका छन् । पराजित सेल्टा ४३ अंक जोडेर ११औं स्थानमा रहेको छ ।