एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा सुपर स्टार केलियन एमबाप्पे सोमबार म्याड्रिड पुगेका छन् । पिएसजीका सहकर्मी हाकिमी र नबिलसँगै उनी स्पेनको म्याड्रिड पुग्दा रियल म्याड्रिडसँगको प्रसंग स्वत जोडिएर आएको छ ।
एमबाप्पे म्याड्रिड पुगेपछि उनी अर्को सिजन रियलबाट खेल्ने सम्भावना झन् बलियो भएको अनुमान गरिएको छ । जबकी पिएसजीसँगको उनको सम्झौता अब दुई महिना भन्दा पनि कम समय रहेको छ । आउने दिनमा एमबाप्पेले आफ्नो भविष्यको निर्णय लिनुपर्नेछ । उनको पछिल्लो यात्राले रियल जाने सम्भावनालाई थप बल दिएको छ ।
एमबाप्पेको यात्राले नयाँ अध्यायको सुरुवात गरेको अनुमान समेत गरिएको छ । रियलसँगको सम्झौताको प्रसंगसँगै एमबाप्पेले पिएसजीको सम्झौता नविकरण गर्ने चर्चा पनि चलेको छ । अर्कोतर्फ रियल भने एमबाप्पे अर्को सिजनका लागि आफ्नो क्लबमा आबद्ध हुनेमा आशावादी रहेको बताइएको छ । रियलले सम्झौता चाँडै हुने विश्वास लिएको छ ।
केहि सञ्चारमाध्यमले केहि दिनमा एमबाप्पले अबको यात्राको औपचारिक घोषणा गर्ने उल्लेख गरेका थिए । मे २१ मा मेन्ट्सविरुद्ध खेलेसँगै पिएसजीले यो सिजनको अन्त्य गर्दैछ । सम्भवत त्यसकै सेरोफरोमा उनले आफ्नो औपचारिक घोषणा गर्ने अनुमान गरिएको छ ।
एमबाप्पेकी आमा यति बेला दोहामा रहेकी छिन् । छोराको विषयलाई लिएर उनको भनाई दिनहुँ जस्तो आउने गरेको छ । उनले केहि दिन अघि एमबाप्पेले पिएसजीसँग सम्झौता नविकरण गरेको विषयलाई अस्वीकार गरेकी थिइन् । यद्दपी पिएसजीले प्रयास भने जारी राखेको बताइएको छ ।
एमबाप्पेकी आमा फायजा लामारी उनका भाई इथानका साथ दोहा पुगेका कारण पनि अनेक अनुमान गरिएको छ । गत साता पिएसजी र एमबाप्पेबीच दुई वर्षका लागि नयाँ सम्झौत भएको समाचार सार्वजनिक भएको थियो । त्यसमा थप अर्को सिजनको विकल्प पनि राखेको बताइएको थियो ।
एमबाप्पेले वार्षिक ५० मिलियन युरो र नयाँ सम्झौताको बोनस स्वरुप १ सय मिलियन पाउने सम्झौता भएको बताइएको थियो । तर त्यसलाई उनीकी आमाले भने अस्वीकार गर्दै आएकी थिइन् ।

