सिटीमा सर्वाधिक कमाउने खेलाडीको सुचिमा हालान्ड ! कति पाउँछन् पारिश्रमिक ?

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेका युवा फरवार्ड एर्लीङ हालान्डलाई अन्तत: अनुबन्ध गरेको छ । लामो समयको प्रयासपछि पेप गुआर्डीओलाको टोलीले मुख्य स्ट्राइकर अनुबन्ध गर्न सफल भएको छ ।

सिटीले हालान्ड र बोरुसिया डर्टमुन्डको सम्झौतामा भएको ६० मिलियन युरोको रिलिज क्लज (फुकुवा गर्ने सहमति रकम) तिरेपछि ट्रान्सफर पूरा भएको हो । क्लबले हालान्डसँग व्यक्तिगत सम्झौता पनि गरेको छ । २१ वर्षीय फरवार्डले सिटीको जर्सीमा खेलेवापत मोटो रकम बुझ्ने भएका छन् ।

इटालियन पत्रकार फाब्रिजियो रोमानोका अनुसार हालान्डले प्रति साता ३ लाख ७५ हजार पाउण्ड (५ करोड ६० लाख नेपाली रुपैयाँ) तलब बुझ्नेछन् । उनी सिटीमा सर्वाधिक कमाउने खेलाडीको सुचिमा आउनेछन् । हाल केभिन डे ब्रुएनले पनि सोहि रकम बुझिरहेका छन् ।

हालान्डले डर्टमुन्डमा रहँदा प्रति साता १ लाख ३२ हजार पाउण्ड बुझ्ने गरेका थिए । उनलाई क्लबले १७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । उनको सम्झौता २०२४ सम्म रहेपनि सिटीले रिलिज क्लजको रकम तिरेपछि क्लब बेच्न बाध्य भयो । हालान्डले पनि सिटीलाई आफ्नो गन्तव्य बनाएका हुन् । हालान्डले डर्टमुन्डका लागि ८८ खेलमा ८५ गोल र २३ असिस्टको योगदान दिए ।

सिटीले हालान्डलाई अगुएरोको स्थान लिने लक्ष्यका साथ अनुबन्ध गरेको हो । सिटीले गत सिजन अगुएरोले क्लब छाडेपछि ह्यारी केनलाई अनुबन्ध गर्न खोजेको थियो । तर केनले टोटेनहम नछाड्ने अडान लिएपछि हालान्डतर्फ नजर राखेको थियो । अगुएरोले पेपको नेतृत्वमा १ सय ८२ खेल खेल्दै १ सय २४ गोल गरेका थिए ।

प्रकाशित : शुक्रबार, बैशाख ३०, २०७९०५:५०

रोनाल्डो बने अप्रिल महिनाको प्रिमियर लिग उत्कृष्ट खेलाडी !