रियल म्याड्रिडलाई झड्का, पिएसजीमै रहने एम्बाप्पेको निर्णय !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको भविष्यलाई लिएर रहेको अन्योलता टुंगिने भएको छ। एम्बाप्पेले पिएसजीसँगको सम्झौता नवीकरण गर्ने भएसँगै उनको भविष्यलाई लिएर रहेको अन्योलता अन्ततः टुंगिने भएको हो।

पिएसजी र एम्बाप्पे बीचको सम्झौता आउने केहि साता भित्रै सकिँदैछ। पिएसजीले गएको एक वर्ष भन्दा बढी समय देखि एम्बाप्पेलाई सम्झौता थप गर्न फकाइरहेको थियो। तर एम्बाप्पेले पिएसजीको तर्फबाट भएका सबै प्रस्ताव अस्विकार गरेका थिए।

एम्बाप्पेलाई भित्र्याउन रियल म्याड्रिडले पनि गएको एक वर्ष भन्दा बढी समय देखि प्रयास गरिरहेको छ। उनका लागि पिएसजी र रियल दुवैले आकर्षक प्रस्ताव अफर गरेका थिए। तर पछिल्लो एक खबरका अनुसार एम्बाप्पे पिएसजीमै रहन सहमत भएका छन्। चर्चित खेल मिडिया गोलका अनुसार एम्बाप्पे पिएसजीसँगको सम्झौता नवीकरण गर्न सहमत भइसकेका छन्।

केहि दिन अगाडी मात्रै एम्बाप्पेकी आमाले रियल र पिएसजी दुवैको प्रस्तावमा धेरै भिन्नता नरहेको बताएकी थिइन्। त्यससमय उनले कहाँ रहने भन्ने कुरा नितान्त एम्बाप्पेमा निर्भर रहेको बताएकी थिइन्।

मोनाकोबाट पिएसजी आएयता एम्बाप्पे पिएसजीक मुख्य खेलाडी रहेका छन्। जारी सिजनमा पनि एम्बाप्पे पिएसजीका लागि महत्वपूर्ण सावित भए। जारी सिजनमा उनले अहिले लिग वानमा २५ गोल गरिसकेका छन्।

प्रकाशित : शनिबार, जेठ ०७, २०७९२०:५८

सन् २०२५ सम्म पिएसजीमै बस्ने भए एम्बाप्पे !