सन् २०२५ सम्म पिएसजीमै बस्ने भए एम्बाप्पे !

एजेन्सी – आधुनिक फुटबलमा सर्वाधिक चर्चामा रहेको किलियन एमबाप्पेको ट्रान्सफरले अन्तत: पूर्णता पाएको छ । लामो समयदेखि युरोपेली महारथी रियल म्याड्रिडसँग नाम जोडिएका एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा नै रहने निर्णय लिएका छन् ।

एक दिन अघिसम्म न रियल म्याड्रिड न पिएसजी दुवैलाई एमबाप्पे कहाँ खेल्छन् भन्ने थाहा थिएन । एमबाप्पेले दुवै क्लबसँग मौखिक सम्झौता गरिसकेका थिए । एमबाप्पेकी आमा र उनको प्रतिन्दिही फायजा लमारीले पनि दुवै क्लबसँग सम्झौता छलफल पूरा भएको र एमबाप्पेले नै अन्तिम निर्णय लिने बताएका थिए ।

रियल र पिएसजी दुवै क्लबले एमबाप्पेलाई नयाँ सम्झौता हस्ताक्षर गरेवापत १ सय ५० मिलियन युरो तिर्न राजी भएका थिए । दुवै क्लबले एमबाप्पेले आफ्नो तस्बिर अधिकारको अधिकांश रकम तथा वार्षिक तलब ४० मिलियन युरो रहनेमा पनि सहमति जनाएका थिए ।

तर एमबाप्पेले अन्तिम समयमा रियल नजाने निर्णय बताए । उनले यसबारे रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई व्यक्तिगत फोन सम्पर्कमार्फत नै जानकारी दिए । सन् २०१७ मा नै एमबाप्पे पिएसजी जाने समयमा रियलले उनलाई अनुबन्ध गर्न खोजेको थियो । तर पिएसजी सफल भयो । रियलले भविष्यमा एमबाप्पे रियल आउने आशा राखेको थियो । फेरी एकपटक त्यो आशा निराशामा बदलिएको छ । एमबाप्पेले सन् २०२५ सम्मका लागि पिएसजीमा सम्झौता गरेका छन् ।

एमबाप्पे बाल्यकालमा हुँदा रियल म्याड्रिडका खेलाडीको पोस्टर उनको कोठामा थियो । उनी विशेषगरी क्रिस्टियानो रोनाल्डोको समर्थक थिए । तर पटक पटक आफ्नो सपनाको क्लब जाने अवसरलाई पनि एमबाप्पेले नकारेका छन् । फेरी एकपटक पिएसजीले प्रस्ताव गरेको मोटो रकमको प्रस्तावले एमबाप्पेलाई लोभ्याएको आरोप आम समर्थकले लगाएका छन् ।

यता एमबाप्पे नआउने भएपछि रियल म्याड्रिड समस्यामा परेको छन् । सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोको प्रस्थानपछि क्लबले ठूलो नाम भित्र्याउन सकेको छैन । इडेन हाजार्ड सन् २०१९ मा आएपनि उनले त्यस अनुसार प्रदर्शन गर्न सकेका छैनन् । युरोपको शीर्ष क्लबले ठूलो खेलाडी अनुबन्ध गर्न नसक्दा अध्यक्ष पेरेजमाथि दबाब पक्कै छ ।

प्रकाशित : आइतबार, जेठ ०८, २०७९०९:१६

सिजनको अन्तिम खेलमा एमबाप्पेको ह्याट्रिक !