चम्किए नेयमार, ब्राजिलको सानदार जित !

एजेन्सी – स्टार फरवार्ड नेयमार चम्कदा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली राष्ट्र दक्षिण कोरियामाथि सानदार जित दर्ता गरेको छ । ब्राजिलले घरेलु टोलीमाथि ५–१ को फराकिलो जित आत्मसात गरेको हो ।

सिओल वल्ड स्टेडियममा बुधबार भएको खेलमा ब्राजिलको जितमा नेयमारले दुई तथा रिचार्लीसन, फिलिपे कौटिन्हो र गाब्रियल जेससले समान एक गोल गरे । घरेलु टोलीका ह्वाङ हि चेनले एक गोल फर्काए ।

सातौं मिनेटमा रिचार्लीसनको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो । उनले फ्रेडको पासमा गोल गर्न सफल भएका थिए । ३१औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो । ह्वाङ हि चेनले हि चान ह्वाङको पासमा गोल गर्न सफल भएका थिए ।

४२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २–१ ले अघि बढाए । दोस्रो हाफमा घरेलु टोली निरिह बन्दा ब्राजिलले थप तीन गोल थप्दै सहज जित आत्मसात ग¥यो ।

५७औं मिनेटमा नेयमारले पेनाल्टीमै गोल गर्दै ब्राजिललाई ३–१ ले अघि बढाए । ८०औं मिनेटमा परिवर्तित फिलिप कौटिन्होले गोल गर्दै ब्राजिललाई फराकिलो जिततर्फ अग्रसर गराए । ७८औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका कौटिन्होले मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गर्न सफल भएका हुन् ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अर्का परिवर्तिन खेलाडी गाब्रियल जेससले गोल गर्दै फिफा वरीयताको शीर्ष स्थानमा रहेको ब्राजिलाई सानदार जित दिलाए । जेसस ७८औं मिनेटमा राफिन्हाको स्थानमा मैदान छिरेका थिए ।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९२०:५३

च्याम्पियन्स लिग पछि अब बेन्जेमाको नजर विश्वकपमा, विश्वकप जित्न सकेको जे पनि गर्ने !