“प्रचण्ड पुत्री भन्दा बढी म वफादार र प्रतिबद्ध सिपाही हुँ”

काठमाडौँ – भरतपुर महानगरपालिकाको मेयरको रुपमा दोस्रो कार्यकाल शुरु गरेकी रेणु दाहालले आफू पार्टीको एक वफादार र प्रतिबद्ध सिपाही रहेको बताएकी छन्। राससकर्मी नारायण ढुङ्गाना र नारायण अधिकारीलाई अन्तर्वार्ता दिनेक्रममा दाहालले आफू प्रचण्ड पुत्री भन्दा बढी पार्टीको एक वफादार र प्रतिबद्ध सिपाही रहेको बताएकी हुन्।

अन्तर्वार्ताका क्रममा दाहाललाई ‘तपाईँलाई प्रचण्डको छोरीका रुपमा नभई आफ्नो छुट्टै पहिचान बनाएँ जस्तो लाग्दैन ?’ भनेर प्रश्न गरियो। त्यसको जवाफ दिँदै दाहालले आफ्नो पृष्ठभूमि नबुझ्नेले मात्रै प्रचण्ड पुत्री भनेर आलोचना गर्न सक्ने जवाफ दिइन्। स्कुल पढ्दापढ्दै परिवर्तनको आन्दोलनमा होमिएको र पार्टीले जहाँ खटायो त्यहिँ काम गरेको दाहालको भनाई छ।

“पहिला कतिपयले नेता प्रचण्डले आफ्नो छोरीलाई राजनीतिमा ल्याए भन्ने टीकाटिप्पणी पनि नभएको होइन । मेरो पृष्ठभूमि जनस्तरसम्म धेरैले नबुझेका कारण त्यसो भनिएको हुन सक्छ । स्कुल पढ्दापढ्दै परिवर्तनको आन्दोलनमा होमियो । रोल्पा, काठमाडौँमा कार्य क्षेत्र हुँदै पार्टीले चितवनमा पठायो । म पार्टीको एक वफादार र प्रतिबद्ध सिपाही हुँ ।”,दाहालले भनिन्।

निर्वाचनको समयमा आफू माथि प्रचण्ड पुत्री भनेर बढी प्रहार भएको पनि दाहालले बताउन छुटाइनन्। अहिलेको निर्वाचनमा प्रचण्ड पुत्री भन्ने शब्द कम सुन्न परेको दाहालको अनुभव छ।

उनले भनिन्,”चुनावलाई आफ्नो पक्षमा ल्याउन मलाई प्रचण्ड पुत्री भनेर बढी प्रहार गरेका थिए । त्यो खालको चुनौतीका बीच मलाई काम गरेर देखाउनुपर्छ भन्ने थियो । पाँच वर्षमा धेरै काम गरेर देखाएँ । म आफ्नै कामले परिचित हुन्छु भनेर सङ्कल्प पनि राखेँ । मेरो कारणले बुबा र पार्टीलाई तथा बुबाको कारणले मलाई यो खालको टीकाटिप्पणी सुन्नु नपरोस् भन्नेमा म एकदम सचेत छु । विरोधीले पनि प्रश्न गर्न नसक्ने हिसाबले काम गर्छु भन्ने सङ्कल्प राखेको थिएँ । अहिलेको निर्वाचनमा प्रचण्ड पुत्री भन्ने शब्द सुन्नुपरेन । रेणुले यहाँ कमजोरी गर्यो भन्ने गम्भीर आरोप पनि सुन्नु परेको छैन । विकास भएन भन्ने सुन्नुपरेको पनि छैन । पाँच वर्षको अवधिमा आफ्नो कर्मले त्यो कुरा मेटाउन सकेँ भन्ने लाग्छ ।”

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९१३:०६

कमल थापाको ठोकुवा – ‘अब राजसंस्था कुनै पनि हालतमा फर्किँदैन’