काठमाडौँ – काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका छुट्टै संकेत चिन्ह सार्वजनिक गरेको छ। होटल, रेष्टुरेण्ट तथा बैंकसँग समन्वय गरी सार्वजनिक शौचालयको समस्या समाधान गर्ने तयारी सहित अगाडी बढेको काठमाडौँ महानगरले सार्वजनिक शौचालय पहिचानका छुट्टै संकेत चिन्ह सार्वजनिक गरेको हो।
सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको महानगरले जनाएको छ।
गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।
महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न पनि महानगरले सार्वजनिक आह्वान गरेको छ।
महानगरका मेयर बालेन साहको अध्यक्षतामा यही जेठ १६ गते बसेको वडाध्यक्षसहितको पहिलो बैठकले होटल र रेष्टुरेण्ट शौचालयहरुलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो।