एजेन्सी – क्याटलान क्लब बार्सिलोना र फ्रेन्च विंगर ओस्मान डेम्बेले बीच सम्झौता थपका लागि छलफल निरन्तर जारी छ। दुई पक्ष बीच लामो समय देखि छलफल भइरहेको छ। तर दुई पक्ष कुनै सहमतिमा भने पुग्न सकिरहेका छैनन्।
न त डेम्बेलेले बार्सिलोनासँग सम्झौता थप गर्ने निर्णय गर्न सकेका छन्, न त बार्सिलोना छाड्ने निर्णय नै। उता बार्सिलोनाको हालत पनि उस्तै छ। बार्सिलोना पनि एक निर्णयमा पुग्न सकिरहेको छैन।
बार्सिलोना आर्थिक समस्यामा छ भन्ने सबैलाई थाहा भएकै कुरा हो। सोहि कारणले गर्दा पनि दुई पक्ष बीच सहमति हुन नसकेको बताइन्छ। डेम्बेले बार्सिलोनासँग उच्च पारिश्रमिक माग गरिरहेका छन्। तर उनले माग गरेजति पारिश्रमिक दिन सक्ने अवस्थामा बार्सिलोना छैन।
बार्सिलोना र डेम्बेले बीच सम्झौता थपका लागि भइरहेको संवादलाई स्पेनिस पत्रिकाले ‘कान नसुन्नेहरु बीच भइरहेको संवाद’को संज्ञा दिएको छ। दुवै पक्षले सम्झौता थपको विषयमा खुलेर कुरा गर्न नसकिरहेको मार्काको दावी छ।
“वार्ता अझै जारी छ। तर दिनहरू बित्दै जाँदा कुनै महत्त्वपूर्ण प्रगति बिना दुबै पक्षहरू अघि बढिरहेका छन्। दुवै एक अर्काको जवाफको लागि अधीरताका साथ पर्खिरहेका छन्। जसले गर्दा वार्ता अगाडि बढिरहेको छैन। दुवै पक्षले खुलेर बोल्न सकिरहेका छैनन्।”,मार्काले आफ्नो समाचारमा लेखेको छ।
बार्सिलोना आफ्नो खर्च सिमित गर्न बाध्य हुँदै गएका कारण पनि सम्झौता थपको विषय निष्कर्षमा पुग्न नसकेको संकेत मार्काले गरेको छ। केहि समय मात्रै बार्सिलोनाले आफ्ना खेलाडीहरुलाई पुनः पारिश्रमिक घटाउन आग्रह गरेको खबर आएको थियो।

