काठमाडौँ — आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्रिपरिषद्मा पठाउने एकीकृत समाजवादीको निर्णय तत्काललाई थाती रहने भएको छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
एकीकृत समाजवादीका मन्त्रीको हेरफेरले अन्य दलमा पनि असर गर्ने र असन्तुष्टि बढेर वार्षिक बजेट पारित गर्न गाह्रो हुने देखिएपछि सत्ता गठबन्धनका नेताहरू पछि हटेका हुन् । बजेट पारित नभए सरकार अल्पमतमा पर्छ ।
बालुवाटारमा सोमबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णयपछि एकीकृत समाजवादी र जनता समाजवादी पार्टीमा उत्पन्न विवादबारे छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले मन्त्री हेरफेर गर्दा अरू पार्टीमा पनि प्रभाव पर्ने भन्दै तत्कालका लागि निर्णय रोक्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए ।
देउवा र दाहालले बजेट पारित भएपछि मन्त्रिपरिषद् हेरफेर गर्दा सरकार सुरक्षित हुने बताएका थिए । त्यसपछि अध्यक्ष नेपाल बजेट पारित गरेर मात्रै मन्त्रिपरिषद् हेरफेर गर्न सहमत भएको त्यहाँ सहभागी एक नेताले बताए ।
‘मन्त्रिपरिषद् हेरफेरकै कारण एकीकृत समाजवादीमा विवाद चर्कियो र जसपा फुट्यो भने बजेट पारित गर्न कठिन हुन्छ,’ ती नेताले भने, ‘त्यसकारण अहिले जोखिम नलिने भन्ने निष्कर्षपछि तत्काललाई मन्त्रिपरिषद् हेरफेर रोकिएको हो ।’
एकीकृत समाजवादीमा विवाद रहेको र जसपा फुट नजिक रहेको सूचनापछि प्रधानमन्त्री देउवाले बहुमत सुरक्षित गर्न लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत सरकारमा सहभागी गराउन गृहकार्य गरिरहेका छन् । तर सत्ता गठबन्धनमा यसबारे सहमति जुटेको छैन ।
बजेट पारित नहुँदासम्म मन्त्रिपरिषद् हेरफेर नहुने भएपछि जसपा पनि फुटबाट तत्काललाई जोगिएको छ । मन्त्रिपरिषद् हेरफेर रोकिएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्ना मन्त्रीहरूलाई बोलाएर सम्झाएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर पार्टीको पुरानै निर्णयका आधारमा मन्त्री परिवर्तन गर्न लागेको जानकारी गराएका थिए ।

