बिदा हुनै लागेका आले एक्सनमा, पशुपतिनाथको २ सय ३१ रोपनी जग्गा फिर्ता ल्याउने !

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने दाबी गर्नुभएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरूपा मन्दिर तथा सत्तल पुनर्निर्माणका लागि मंगलबार शुभारम्भ गर्दै मन्त्री आलेले सो दाबी गर्नुभएको हो ।

‘पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काई अतिक्रमण भएको जमिन सबै फिर्ता गराइनेछ’ नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका र आजभोलि नै अवकास लिने अवस्थामा रहेका मन्त्री आलेले भन्नुभयो– ‘सरकारी सम्पत्ति र भगवानको जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाउँदैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गराएरै छाड्छु ।

’विगत वर्षहरूमै सार्वजनिक भएको तथ्यांकअनुसार पशुपति विकास कोषका नाममा रहेको २ सय ३१ रोपनी जग्गा नै हराएको पाइएको छ । कोषको देशभर रहेको जग्गामध्ये त्यति जग्गा हराएको हो । यसमध्ये कतिपय जग्गा खोला, बाटोमा परेको हुन सक्ने बताउँदै खोजी गर्ने काम भइरहेको कोषले जनाएको छ ।

कोषसँग अहिले देशभर १८ हजार ३ सय ४२ रोपनी ५ आना जग्गा रहेको अभिलेखले देखाउँछ ।मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गरेको र अझै पनि देश र नागरिककै पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको ५ सय ३४ रोपनी जग्गाको संरक्षण हुन नसकेको समाचार यसअघि नै प्रकाशनमा आएको छ । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा कोषले संरक्षण नगर्दा वरिपरिबाट मिच्नेक्रम रोकिएको छैन ।

कोषले गोठाटारको जग्गामा सुकुम्बासीका नाममा बसोबास गर्नेलाई हटाउन सार्वजनिक सूचना प्रकाशन गरेको, सूचनामा दिइएको समयमा अतिक्रमण गरी बसेका नहटेपछि स्थलगतरूपमै माइकिङ गरेर छोडेर जान भनेको तर अतिक्रमणकारी नहटेको स्वीकार गरेको छ ।

पछिल्लो समयमा बस्न आउनेलाई हटाउने गरे पनि रातारात फेरि बस्न आउने गरेको हुँदा समस्या आएको छ । प्रहरी प्रशासनको सहयोग लिएर कोषले हटाउने क्रमलाई भने जारी राखेको छ । कतिपटक जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नै लगेर सुकुम्बासी हटाउन खोजिएको थियो ।

प्रकाशित : बुधबार, जेठ २५, २०७९०८:३०

जसपा बैठकमै कुटाकुट !