एजेन्सी – पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फेरी बायर्न म्युनिख छाड्न चाहको बताएका छन्। केहि समय अगाडी मात्रै बायर्नमा आफ्नो कथा सकिएको बताएका लेवान्डोस्कीले फेरी पनि बायर्न छाड्ने पक्षमा आफू रहेको बताएका हुन्।
एक अन्तर्वार्ताका क्रममा लेवान्डोस्कीले आफूलाई सम्झौताको अन्त्य सम्म क्लबमा अड्याउने भन्दा पनि बिक्री गरेर सो रकम अन्यत्र लगानी गर्न सुझाव दिए।
“मलाई लाग्छ कि मेरो सम्झौताको अन्त्यसम्म मलाई राख्नु भन्दा मलाई बिक्री गर्दा आउने रकम अन्यत्र लगानी गर्दा बायर्नको लागि धेरै राम्रो हुन्छ।”,लेवान्डोस्कीले एक अन्तर्वार्ताका क्रममा भने।
लेवान्डोस्कीले दुवै पक्षलाई सहज हुने गरी निर्णय गरिनु पर्ने बताए। आफू र बायर्न एकअर्काको शत्रु नरहेको हुँदा सकारात्मक ढंगले समस्याको समाधान गरिनुपर्ने लेवान्डोस्कीको भनाई छ।
उनले भने,”म कुनै पनि कुरालाई जबरजस्ती गर्न चाहन्न। म दुबै पक्षका लागि उत्तम समाधान खोज्न चाहन्छु। बायर्न विश्वको सबैभन्दा ठूलो क्लब हो, धेरै खेलाडीहरूको सपनाको क्लब हो। म यो राम्रोसँग अन्त्य गर्न चाहन्छु। हामी शत्रु होइनौं। म विश्वस्त छु कि यो सबै सकारात्मक तवरबाट सकिनेछ।”
त्यस्तै लेवान्डोस्कीले आफू स्वार्थी नरहेको पनि दावी गरे। लगातार आठ वर्ष बायर्नमा रहेर आफूले फुटबल खेलिसकेका कारण बहिर्गमन खोजिनुलाई स्वार्थी भन्न नमिल्ने लेवान्डोस्की बताउँछन्।
“मलाई थाहा छ मसँग बायर्नमा के थियो र म यसको धेरै प्रशंसा गर्छु। मलाई यो पनि थाहा छ कि मैले विगत आठ वर्षदेखि क्लब र फ्यानहरूलाई निराश नगर्न मैले सक्दो प्रयास गरें। यसलाई स्वार्थी भएको भन्न मिल्दैन।”,उनले भने।