एजेन्सी – स्कटिश पूर्व फुटबलर एलिस्टेयर म्याकोइस्टले ग्यारेथ बेल फुटबल खेल्न स्कटल्याण्ड जानुपर्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा म्याकोइस्टले स्कटल्याण्डको लिगमा बेलले खेल्नु पर्ने बताएका हुन्।
टकस्पोर्टसँग कुराकानी गर्नेक्रममा म्याकोइस्टले बेललाई स्कटल्याण्डको रेन्जर्समा जान सुझाव दिए। रेन्जर्सले पनि बेललाई भित्र्याउन प्रयास गर्नुपर्ने म्याकोइस्टको भनाई छ। त्यसक्रममा उनले स्कटल्याण्डमा उत्कृष्ट गल्फकोर्सहरु रहेको बताउन पनि छुटाएनन्।
गल्फ बेललाई फुटबलका अलावा मन पर्ने खेलमा मन पर्छ। बेल विभिन्न समयमा गल्फ खेल्दै देखिने गरेका छन्। त्यसैतर्फ इंकित गर्दा म्याकोइस्टले स्कटल्याण्डमा राम्रा गल्फकोर्सहरु रहेको बताएका हुन्।
“म बेल रेन्जर्स जानुपर्छ भन्ने मान्छु। म रेन्जर्समा थिएँ भने पक्कै बेललाई भित्र्याउने प्रयास गर्ने थिएँ। रेन्जर्समा हुने हो भने बेल धेरै रमाउने थिए। त्यस्तै उनले यहाँ गल्फ पनि खेल्न पाउँछन्। हामीसँग राम्रा गल्फकोर्सहरु छन्।”,म्याकोइस्टले भने।
ग्यारेथ बेलको रियल म्याड्रिडको बसाई सकिसकेको छ। रियल म्याड्रिडमा रहेर सबै उपाधि जितिसकेका बेल अब फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। बेललाई भित्र्याउन अब कुनै पनि क्लबले रियललाई रकम तिर्नुपर्ने छैन।
गएको केहि वर्ष देखि बेललाई शरीरले त्यति साथ दिरहेको छैन। सन् २०२१-२२ को सिजनमा उनले रियलका लागि ७ खेल मात्र खेल्न पाए। जसमा उनले मात्र एक गोल गरे। बेललाई भित्र्याउन कुनै रकम खर्च गर्न नपरेपनि बेलले उच्च पारिश्रमिक माग गर्ने भएका कारण धेरै क्लबहरुले बेललाई भित्र्याउने प्रयास नगर्ने अनुमान गरिन्छ।