अलपत्र पोग्बाले भेटे क्लब, केहि दिनमै सम्झौता !

एजेन्सी – फ्रान्सेली मिडफिल्डर पल पोग्वाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाड्ने पक्का भइसकेको छ। युनाइटेडमा उनको सम्झौता नहुने क्लबले समेत पुष्टि गरिसकेको छ। केहि दिन अगाडी मात्रै युनाइटेडले आफ्नो आधिकारिक वेबसाइटमा विज्ञप्ति जारी गर्दै पोग्बालाई अन्तिम बिदाइ भनेको थियो।

पोग्बा सन् २०१६ मा इटालियन क्लब युभेन्ट्सबाट युनाइटेडमा फर्किएका थिए। त्यसबेला युनाइटेडले पोग्बाका लागि कीर्तिमानी ८९ मिलियन पाउन्ड खर्च गरेको थियो। त्यसबेला उनी युनाइटेडको इतिहासमा सबैभन्दा महँगो खेलाडी बनेका थिए।

पोग्बा युभेन्ट्समा सफल चार सिजन बिताएपछि युनाइटेड फर्किएका थिए। युभेन्ट्समा उनी सिरी ए च्याम्पियन र युरोपका उत्कृष्ट मिडफिल्डर बनेका थिए। युनाइटेड फर्किएपछि भने उनी पहिला जस्तै रहन सकेनन्। उनले अपेक्षा गरिएजस्तो प्रदर्शन नै गर्न सकेनन्।

युभेन्टस जाने उच्च सम्भावना

फ्री ट्रान्सफरका लागि उपलब्ध भएका पोग्बा इटालियन क्लब युभेन्टस जाने उच्च सम्भावना रहेको छ। खबरका अनुसार युभेन्टस र पोग्बा लगभग सहमतिमा पुगिसकेका छन्। दुवै पक्ष बीच भएका पछिल्ला छलफलहरु सकारात्मक देखिएको ट्रान्सफर मार्केटका जानकारहरुको भनाई छ।

दुई पक्ष बीच आउने केहि दिन भित्रै सम्झौता हुने उच्च सम्भावना रहेको छ। पछिल्लो पटक युभेन्टसमा हुँदा उनले धेरै राम्रो प्रदर्शन गरेका थिए। सो प्रदर्शन देखेरै युनाइटेडले उनीमा ठूलो रकम खर्च गरेको थियो।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९१२:१४

कुहिएको स्याउ बन्ने संघारमा लुकाकु !