लापोर्टा भन्छन् – ‘हामी आउँदा बार्सिलोना मरिसकेको थियो, तर अहिले आईसीयूमा छ’

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले बार्सिलोनाको अवस्था क्रमिक रुपमा सुध्रिरहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा लापोर्टाले बार्सिलोनाको अवस्था पहिला भन्दा राम्रो हुँदै गएको बताएका हुन्।

आफू आउँदा बार्सिलोना आर्थिक रुपमा मृत अवस्थामा रहेको लापोर्टाको भनाई छ। लापोर्टाका अनुसार अहिले बार्सिलोना मृत अवस्थाबाट उठेर आईसीयूमा पुगेको छ। निराशाजनक अवस्था पनि क्लबले प्रगति गरिरहेको लापोर्टाले बताए।

“हामी आइपुग्दा क्लबको चिकित्सकीय रूपमा मृत्यु भइसकेको थियो। तर अहिले क्लब आईसीयूमा छ।”,लापोर्टाले भने,”अर्को साता हामीले क्लबको आर्थिक अवस्थाको सम्बन्धमा छलफल गर्न बैठक बोलाएका छन्। हामी आउँदा तलब तिर्न सक्ने अवस्थामा समेत क्लब थिएन। हामीमाथि तरवार थियो। क्लब चिकित्सकीय रूपमा मरेको जस्तै थियो।”

कोरोना भाइरसको महामारी पश्चात बार्सिलोना चरम आर्थिक संकटमा छ। बार्सिलोना खुलेर नयाँ खेलाडी भित्र्याउन मात्र नभई खेलाडीहरुलाई तलब दिन समेत सकिरहेको छैन। गत सिजन बार्सिलोनाले क्लबका खेलाडीहरुको परिश्रमी समेत कटौती गरेको थियो। प्रशिक्षकमा जाभी हर्नान्डेज आउनु भन्दा अगाडी बार्सिलोनाको नाजुक अवस्था थियो।

विन्टर ट्रान्सफर विन्डोमा केहि खेलाडी भित्र्याएपछि मात्रै बार्सिलोना लयमा आएको थियो। सन् २०२१-२०२२ को सिजनमा बार्सिलोनाले च्याम्पियन्स लिग, युरोपा लिगका साथ-साथै लालिगामा समेत कम्जोर प्रदर्शन गर्यो। लालिगामा बार्सिलोना दोस्रो स्थानमा रहेको थियो। तर बार्सिलोना रियल म्याड्रिड भन्दा १३ अंकले पछाडी थियो।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९१३:००

बार्सिलोना गएर रियलसँग बदला लिने दाउमा रियलका यी खेलाडी !