जसपामा फेरि किचलो, पार्टी फुटाउनेसम्मको तयारी !

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव असार १ र २ मा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन सुरु गरेका छन्। जसपामा अर्का अध्यक्ष पनि नराखे पार्टी फुटाउनेसम्मको तयारीमा उनीहरू जुटेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

स्थानीय तहको चुनावअघि नै हस्ताक्षर संकलन सुरु गरिएको थियो। त्यतिबेला असन्तुष्ट पक्षको दबाब थेग्न नसकी अध्यक्ष यादवले कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक बोलाएका थिए। फागुनमा केन्द्रीय समिति बैठकले असार १ र २ गते विधान अधिवेशन बोलाउने र विधान अधिवेशनबाटै दुई अध्यक्ष राख्ने विषय टुंगो लगाउने निर्णय गरेपछि असन्तुष्ट पक्षधर नेताहरू चुप लागेका थिए।

त्यो बेला अध्यक्ष यादव एक कदम पछि हटेका थिए। केन्द्रीय समिति र कार्यकारिणी समितिको बैठक नबस्ने अवस्थामा पार्टीले गर्ने हरेक निर्णयमा तीनजना नेता भट्टराई, यादव र राईलाई जिम्मेवारी दिने सहमति गरिएको थियो। तीनजना नेतालाई अधिकार दिएर पार्टी मुख्यालय गठन गरिएको थियो।

यसैगरी केन्द्रीय समितिले निर्वाचनमा उम्मेदवारको मनोयनपत्रमा पार्टीका तर्फबाट हस्ताक्षर गर्ने अधिकार राईलाई दिएको थियो। त्यसपछि पार्टीमा अस्थायी मेलमिलाप भयो। यसैबीचमा स्थानीय तहको निर्वाचन भयो। निर्वाचनपछि अस्थायी मेलमिलाप भंग भएको छ।

पार्टी विधानअनुसार अर्को एक जनालाई अध्यक्ष बनाउन असन्तुष्ट नेताहरूले यादवमाथि फेरि दबाब बढाउन थालेका छन्। उनीहरूको पहिलो माग तोकिएको मिति असार १ र २ मा विधान अधिवेशन बोलाउनुपर्ने छ। विधान अधिवेशन बोलाउन कार्यकारिणी समितिका अध्यक्ष यादव तयार हुनुपर्छ। तर यादवले तत्काल विधान अधिवेशन बोलाउने छाँटकाँट देखाएका छैनन्।

उनी अधिवेशन बोलाउन तयार नदेखिए दबाब फेरि हस्ताक्षर संकलन सुरु गरिएको भट्टराई पक्षधर नेताहरूको भनाइ छ। ‘अध्यक्षले असार १ र २ गते विधान अधिवेशन बोलाउने छाँटकाँट देखिएको छैन। त्यसैले उहाँ (यादव) लाई विधान अधिवेशन बोलाउन दबाब दिन केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन फेरि सुरु गरिएको थाहा पाएको छु,’ जसपा कार्यकारणी समिति सदस्य प्रशान्त सिंहले भने, ‘हस्ताक्षर संकलन सामान्यतया पार्टीमा आफ्नो पक्ष बहुमत देखाउन र बैठक बोलाउन दबाब दिने उद्देश्यबाट गरिन्छ। स्थानीय तहको चुनावअघि गरिएको हस्ताक्षर संकलन अभियान स्थगित गरिएको थियो। अहिले फेरि हस्ताक्षर संकलन सुरु गरिएको छ भन्ने जानकारीमा आएको छ।’

जसपा केन्द्रीय समिति ४ सय ९९ सदस्यीय छ। एक चौथाइ केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरी अध्यक्षलाई बुझाए केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने बाध्यता पार्टी विधानमा छ। केन्द्रीय समिति र कार्यकारिणी समितिमा भट्टराई र राई पक्षको बहुमत छ।

प्रकाशित : शनिबार, जेठ २८, २०७९०८:५५

जसपा भित्र भाँड-भैलो, महिना दिनमै चार ‘हातपात’ र ‘दुव्र्यवहार’का घटना !