काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र हितविपरीत कुनै काम हुन नदिने भन्दै अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौताबारे चासो राखेकी छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
केही दिनदेखि एसपिपीबारे चर्चापरिचर्चा चलिरहेका बेला राष्ट्रपति भण्डारीले केही पत्रकारसँगको भेटमा भनिन्, ‘मैले जानेर वा नजानेर राष्ट्र हितविपरीत कुनै पनि काम गर्दिनँ।’ राष्ट्रपति भण्डारीसँग मंगलबार एमालेनिकट प्रेस चौतारीमा आबद्ध केही पत्रकारले भेट गरेका थिए।
स्रोतका अनुसार भेटमा मुलुकको सार्वभौमसत्ता, स्वाभिमानलाई झुक्न दिन नहुने, नेपालको भूमिमा विदेशी शक्ति राष्ट्रहरूको चलखेल रोक्न सरकारले नै पहल गर्नुपर्ने र त्यसो नभए राष्ट्रपतिले मुलुकको अभिभाकको भूमिका निर्वाह गर्नुपर्ने प्रसंग उठेपछि उनले आफूले जानेर वा नजानेर राष्ट्र हित विपरीतका कुनै पनि काम नगर्ने बताएकी हुन्।
पत्रकारसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा सरकारले तलमाथि गर्नेबारेमा कहींकतै नबोलेको तर व्यवहारमा त्यस्तो नदेखाएको भन्दै चिन्ता प्रकट गरेकी थिइन्। ‘सरकारका कुनै अधिकारीले असंलग्न परराष्ट्र नीतिका विपक्षमा बोल्नुभएको छैन तर अमेरिकी अधिकारीलाई तिब्बती शरणार्थी क्याम्प जान दिनुले व्यवहारमा अप्ठेरो उत्पन्न गराएको छ’, राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो।
उनले सरकार कुनै पनि विदेशी शक्ति राष्ट्रका विषयमा एकपक्षीय जस्तो भएर जान नहुने र यस्तो भएमा नेपालको परराष्ट्र नीतिमा असर पर्ने बताइन्। अमेरिकी उपविदेशमन्त्री उज्रा जेयाको काठमाडौंस्थित तिब्बती शरणार्थी शिविर भ्रमणको विषयले दलहरूभित्र मतभिन्नता उत्पन्न भएका बेला राष्ट्रपति भण्डारीले पनि यसबारेमा चासो राख्दै असन्तुष्टि प्रकट गरेकी हुन्।
यसै साता अमेरिकी सेनाका कमान्डर चार्ल ए फ्लिनको नेपाल भ्रमणलगत्तै एसपिपी सम्झौताका विषयमा पनि चर्चा भइरहेको छ। जसले गर्दा यसमा राष्ट्रपति भण्डारीले समेत चासो दिने अवस्था आएको हो। प्रेस चौतारीनिकट केही पत्रकारसँगको भेटमा राष्ट्रपतिले राष्ट्र र राष्ट्रियताका सवालमा कुराकानी गरेकी थिइन्।
राष्ट्रपति भण्डारीसँग मंगलबार केही पत्रकारको भेट भएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुष्टि गरे। ‘हामीले लामो समयदेखि राष्ट्रपतिसँग भेटका लागि समय मागेका थियौं, मंगलबार समय मिलेको हो। हाम्रो भेट सामान्य कुराकानीमै टुंगिएको हो, अन्य कुनै कुरा भएन’, बस्नेतले भने।
राष्ट्रपति भण्डारीले अहिलेको सरकारले ल्याएको बजेटका विषयमा पनि सामान्य धारणा राखेकी थिइन्। खासगरी किसानले समयमा मल नपाएको, कृषि उत्पादनलाई सरकारले बेवास्ता गरेको, बिचौलिया हाबी भएको जस्ता विषयमा राष्ट्रपति भण्डारीको चासो थियो। उनले आफूले सकेजति र संविधानले दिएको अधिकार कार्यान्वयन गरिरहेको बताइन्।

