बार्सिलोनामा लुरुक्क-राष्ट्रिय टोलीमा फुरुक्क डिपाए, नेदरल्यान्ड्सको सानदार जित !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाएले इन्ज्युरी समयमा गोल गरेपछि नेदरल्यान्ड्सले युएयफए नेसन्स लिग ए ग्रुप ४ मा रोमाञ्चक जित निकालेको छ ।

नेदरल्यान्ड्सले वेल्समाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । डच टोलीको जितमा डिपाएसँगै नोआ लाङ र कोडी गाक्पोले गोल गरे । वेल्सका ब्रेननान जोन्सन र ग्यारेथ बेलले गोल गरे ।

रोटरडाम नेदरल्यान्ड्समा मंगलबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको १७औं मिनेटमा नोआ लाङको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । उनले भिन्सेन्ट जान्सेनको पासमा गोल गर्न सफल भएका थिए ।

२३औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै डच टोलीको अग्रता दोब्बर पारे । २६औं मिनेटमा ब्रेननान जोन्सनले गोल गर्दै वेल्सलाई खेलमा फर्काउने संकेत दिए । उनले ह्यारी विल्सनको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि खेलको इन्ज्युरी समयमा खेल नाटकीय मोडमा पुगेको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी ग्यारेथ बेलले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर, त्यसको एक मिनेटपछि डिपाएले गोल गर्दै नेदरल्यान्ड्सको जित पक्का गराए ।

यो जितसँगै नेदरल्यान्ड्स ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा रहेको छ । बेल्जियमको ७ तथा पोल्यान्डको ४ अंक छ ।

प्रकाशित : बुधबार, असार ०१, २०७९०८:२२

इटाली विरुद्ध जर्मनीको ताण्डव !