काठमाडौं – अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्य’bout नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए ।
अमेरिकाले त्यतिबेला नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले पनि राजीतिक तहमा प्रस्ताव अघि सारेको हो । सो प्रस्तावको विपक्षमा राजनीतक वृतमा तरंग आएपछि नेपालस्थित अमेरिकी दूतावासले नेपालसँग कुनै सम्झौता नभएको बताएको छ । नेपालस्थित अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्दै आएको दस्तावेज असत्य भएको जनाएको छ ।
अमेरिकी दूतावासले मंगलबार साँझ ट्वीट गर्दै अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सामेल हुन नभन्ने र कुनै पनि देशले त्यसका लागि माग आएको खण्डमा त्यस मागलाई सम्बोधन गर्ने जनाएको छ ।
‘नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्तावेज असत्य हो,’ अमेरिकी दूतावासले भनेको छ, ‘नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्छ ।’ ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेसनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो,’ दूतावासको ट्वीटरमा भनिएको छ, ’अमेरिकी नेसनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलोजस्ता प्राकृतिक विपत्तिविरुद्ध जुध्न अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ ।’ दूतावासले साढे दुई दशकदेखि कायम रहेको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारी समावेश भएको जनाएको छ । ‘तीमध्ये अधिकांश देश यस क्षेत्रमा छैनन्,’ दूतावासले भनेको छ ।
‘आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिका आफ्नो अग्रपंक्तिका उद्धारकर्ताका रूपमा रहेका नेसनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ,’ अमेरिकी दूतवासले भनेको छ, ‘यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो ।’
सरकार कुनै सैन्य गठबन्धनमा जाँदैन : परराष्ट्रमन्त्री खड्का
अमेरिकी जर्नेलको नेपाल भ्रमणका क्रममा आएको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) प्रस्ताव सम्बन्धमा मन्त्री नारायण खड्काले सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने बताएका छन् । उनले कांग्रेस नेतृत्वको सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने बताए ।‘सैन्य गठबन्धनमा फस्न लाग्यो नेपाल भन्ने बाहिर आएको छ । त्यो होइन,’ उनले भने, ’कांग्रेस नेतृत्वको सरकार स्वाभिमानी, राष्ट्रवादी र देशभक्त रहेको छ । विगतमा प्रधानमन्त्री, राष्ट्रपतिको भ्रमण हुँदा कुरा उठेनन् । कहिलेकाहीँ यस्ता विषय उठाइने गरिएको छ । नेपाल कुनै पनि खालको सैन्य गठबनधनमा जाँदैन ।’
अमेरिकी एसपीपी लागू गरिए परराष्ट्र नीति ध्वस्त हुनेछ : भीम रावल
नेकपा (एमाले)का सांसद भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने बताएका छन् । ‘यदि त्यस्तोमा नेपालले प्रवेश गर्ने हो भने नेपालको संविधानको धारा ५१ को ड र अरू २७९, अरू सबै हाम्रो जुन अहिले असंलग्न स्वतन्त्र परराष्ट्र नीति हो, जो संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित छ । असंलग्न पञ्चशीलका सिद्धान्तमा आधारित छ, उनले भने, ‘हामी चीन र भारतजस्ता विशाल देशमा रहेको जुन प्रकारको संवेदनशील भू–राजनीतिमा छौं । यो देशको सम्पूर्ण रूपमा परराष्ट्र नीति नै ध्वस्त भएर जान्छ । त्यस्तो गम्भीर कुरा बाहिर आएको छ । यो विषय नेपालजस्तो देशका लागि अत्यन्त गम्भीर विषय छ । यदि यस्तो हो भने त नेपाललाई एउटा सैनिक गठबन्धनतिर लैजाने र नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने राष्ट्रहितविरोधी काम हुँदै छ ।’
-राजधानी दैनिक