इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौं – समूह चरणका सबै तीन खेलमा पराजित हुँदै राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणको अन्त्य गरेको छ ।

समूह ‘ए’ मा नेपालले आफ्नो अन्तिम खेलमा बुधबार विहान ७–० ले गुमाएसँगै नेपालको छनोट यात्रा लज्जास्पद रुपमा टुंगिएको छ । कुवेतस्थित जाबिर अल अहमद मैदानमा नेपाली टोली पहिलो हाफमै २–० ले पछि परेको थियो । दोस्रोे हाफमा थप ५ गोल खाँदा नेपालले आधा दर्जनभन्दा बढी गोलको भारी बोक्नु परेको थियो ।

नेपाल पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो । रक्षक सुमन अर्यालले विपक्षीमाथि खराब ट्याकल गरेका कारण ११ औं मिनेटमा पहिलो तथा ३३ अ‍ौं मिनेटमा दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदान छाड्न परेको थियो ।

इन्डोनेसिसयाका लागि विटान सुलेमानले २, डिमास ड्राजाड, फेचरुदिन आर्यान्टो, सादिल रामदानी र इल्कान बागोट, मार्सिलेनो फर्डिनान्डले समान १ गोल गरेका थिए । डिमासको गोलबाट इन्डोनेसिसयाकाले खेलको छैटौं मिनेटमा अग्रता लिएको थियो । विटानले ४३ औं मिनेटमा गोल गर्दै इन्डोनेसियाको अग्रतालाई दोब्बर पारे ।

दोस्रो हाफमा इन्डोनेसिया नेपाली टोलीमाथि थप हाभी भएको थियो । फेचरुदिनले ५४, सादिलले ५५ औं मिनेटमा गोल थपे । त्यस्तै इक्लानले ८० औं र विटानले ८१ औं मिनेटमा गोल थपे । अन्तिम मिनेटमा मार्सिलेनोले गोल गरेका थिए । छनोटका ३ खेलमा १३ गोल खाएको नेपालका लागि एक मात्र गोल दर्शन गुरुङले कुवेतविरुद्ध गरेका थिए ।

पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित नेपालले कुवेतसँगको खेल ४–१ ले गुमाएको थियो । इन्डोनेसियाविरुद्धको खेलमा पुजन उपकोटीले टोलीको कप्तानी सम्हालेका थिए । छनोटका लागि नवयुग श्रेष्ठ कप्तान नियुक्त भएका थिए । शिवकुमार गुरुङ र नीरकुमार राईले सोहि खेलमार्फत डेब्यू गरेका छन् । शिव र नीर दुवैले पहिलो रोजाईमै खेलको सुरुवात गरेका थिए ।

समूह एको समाप्तीमा ९ अंकका साथ जोर्डन शीर्षस्थानमा, ६ अंकसहित इन्डोनेसिया दोस्रो र कुवेत ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । नेपालले अंक विहिन हुँदै छनोटको यात्रा अन्त्य गरेको छ ।

प्रकाशित : बुधबार, असार ०१, २०७९०८:३३

पोर्चुगिज युवा मिडफिल्डर माथि युनाइटेडको नजर ! मूल्य कति ?