अमेरिकी सेना भित्र्याउने सम्झौताको विरुद्धमा उभिए गगन, मागे देउवासँग जवाफ !

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संयुक्त राज्य अमेरिकाको राज्य साझेदारी कार्यक्रम (एसपिपी) जस्ता सम्झौता नेपालले गर्न नहुने बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले एसपिपीका लागि नेपालले सम्झौता गर्न नहुने बताएका हुन्।

अमेरिकी सहयोग परियोजना(एमसीसी) सम्झौता संसदबाट पारित गरेको भन्दैमा नेपाल एसपिपीमा पनि सहभागी हुनुपर्छ भन्ने नरहेको थापाले बताए। नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी अगाडी बढ्न नसक्ने थापाको भनाई छ।

“हामीले केही समय अगाडि एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्‍यौँ । यस्ता विकास आयोजना हामीले अमेरिकाबाट लिने हो, चीनबाट लिने हो, भारतबाट पनि लिने हो । मुलुकलाई समृद्ध पार्ने हो। तर नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा चाहे त्यो छिमेकी देशसँग होस् वा अर्को देशसँग होस् त्यो सम्झौता अघि बढ्दैन । त्यस्तो सम्झौता हुन सक्दैन, हुन दिइँदैन ।”,थापाले भने।

थापाले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले संसदमा त्यस सम्बन्धमा स्पष्ट पार्नुपर्ने पनि बताए। एसपिपीबारे प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्ने थापाले उल्लेख गरे।

उनले भने,”अहिले प्रधानमन्त्री मेरो पार्टीको सभापतिसमेत हुनुहुन्छ । नेपाल यस्तो खालको सामरिक स्वार्थ भएको ठाउँमा न कहिल्यै थियो, न कहिल्यै हुनेछ । त्यसैले प्रधानमन्त्रीज्यूको कुरा पनि यही हो भन्ने मलाई लाग्छ । म आग्रह गर्न चाहन्छु, आजै यो विषयमा प्रस्टसँग उहाँले आफ्नो धारणा राखिदिनुहुनेछ। अमेरिका के चाहन्छ उसको कुरा भयो। तर प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ।”

प्रकाशित : बुधबार, असार ०१, २०७९१२:३६

डेम्बेलेमा गरेको लगानी त्यसै खेर जाने भयो, डुब्ने भयो बार्सिलोना !