ट्रान्सफर बजारमा नयाँ ट्वीस्ट, युनाइटेडलाई लिभरपुल पछि आर्सनलले दियो झड्का !

एजेन्सी – समर ट्रान्सफर विन्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लागि त्यति राम्रो गइरहेको छैन। युनाइटेडले अहिले सम्म एक जना पनि खेलाडी भित्र्याउन सकेको छैन। युनाइटेडले प्राथमिकतामा राखेका खेलाडीहरु अन्य क्लबहरुले भित्र्याइदिँदा युनाइटेड झनै समस्यामा परेको छ।

युनाइटेडले केहि समय अगाडी लोर्चुगिज क्लब बेन्फिकाका उरुग्वेली युवा स्टार डार्विन नुनेजलाई भित्र्याउने प्रयास गरेको थियो। तर युनाइटेडको सो प्रयासमा लिभरपुल बाधक बनेको थियो। नुनेजले लिभरपुलसँग सम्झौता गरिसकेका छन्। युनाइटेडको तर्फबाट आएको प्रस्तावलाई अस्विकार गर्दै नुनेज लिभरपुलमा अनुवन्धित भए।

लिभरपुलले झड्का दिएको केहि समय नबित्दै युनाइटेडलाई आर्सनलले पनि झड्का दिएको छ। युनाइटेडको प्राथमिकतामा रहेका खेलाडीलाई आर्सनल जान तयार भएसँगै ट्रान्सफर बजारमा युनाइटेडलाई दोस्रो झड्का लागेको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार युनाइटेडका टार्गेट फाबियो भिइरा आर्सनल जान सहमत भएका छन्। २२ वर्षिय मिडफिल्डरका लागि पोर्टो र आर्सनल बीच सहमति भइसकेको ट्रान्सफर मार्केटका जानकार फ्राब्रिजियो रोमानोले जनाएका छन्।

रोमानोका अनुसार आर्सनलले गरेको ३५ मिलियन युरोको प्रस्ताव पोर्टोले स्वीकार गरिसकेको छ। पोर्टोले आर्सनलको प्रस्ताव स्वीकार गरेसँगै ५० मिलियन युरोको रिलिज क्लज सक्रिय गराउनुपर्ने अवस्था रहेन।

गत सिजन शिर्ष चारमा पर्नबाट चुकेको आर्सनल स्क्वाडलाई थप बलियो बनाएर आगामी सिजन प्रिमियर लिगमा बलियो उपस्थिति बनाउने योजनामा छ। आर्सनलले यस अगाडी मार्किन्होसलाई भित्र्याएको थियो। त्यस्तै आर्सनल म्यानचेस्टर सिटीका गेब्रियल जेसुसलाई समेत भित्र्याउने योजनामा छ।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९११:४९

“रोनाल्डो हुँदा-हुँदै हालाण्डले गोल्डेन बुट जित्ने ‘नो चान्स’, बरु सलाह र केनले सक्लान्”