“रोनाल्डो हुँदा-हुँदै हालाण्डले गोल्डेन बुट जित्ने ‘नो चान्स’, बरु सलाह र केनले सक्लान्”

एजेन्सी – युइएफए च्याम्पियन्स लिगका पूर्व विजेता मिकेल सिल्भेस्ट्रेले सन् २०२२-२३ को सिजनमा प्रिमियर लिगको गोल्डेन बुट क्रिस्टियानो रोनाल्डो जित्न सक्ने सम्भावना रहेको दावी गरेका छन्। म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी समेत रहेका सिल्भेस्ट्रेले एक अन्तर्वार्ताका क्रममा आउने सिजन रोनाल्डोले गोल्डेन बुट जित्न सकने बताएका हुन्।

अन्तर्वार्ताका क्रममा भर्खरै म्यानचेस्टर सिटीमा अनुबन्ध भएका एर्लिङ हालाण्डले गोल्डेन बुट जित्लान् ? भनेर प्रश्न गरिँदा हालाण्डले भन्दा रोनाल्डोले गोल्डेन बुट जित्न सक्ने सिल्भेस्ट्रेले बताए। सन् २०२१-२२ को सिजनमा निष्क्रिय टोलीबाट खेलेर समेत रोनाल्डोले गोल्डेन बुटका लागि टक्कर दिएको सिल्भेस्ट्रेले स्मरण गरे।

सन् २०२२-२३ को सिजनमा युनाइटेडले सुधारिएको प्रदर्शन गर्ने र त्यसले रोनाल्डोलाई गोल्डेन बुटको दाबेदारको रुपमा उभ्याउने सिल्भेस्ट्रेको अनुमान छ। रोनाल्डोले अझै आफूमा तागत छ भन्ने कुरा प्रमाणित गरेर देखाउनुपर्ने सिल्भेस्ट्रेले बताए।

“गोल्डेन बुट हालाण्डले जित्ने ? म त हालाण्डले भन्दा रोनाल्डोले गोल्डेन बुट जित्ने देख्छु। गत सिजन एक निष्क्रिय टोलीबाट खेल्दा पनि उनी गोल्डेन बुट दौडमा थिए। यसपाली त युनाइटेड पहिला भन्दा राम्रो नहोला र ? त्यसो हो भने रोनाल्डोले आफूमा अझै तागत छ भनेर प्रमाणित गर्नेछन्।”,सिल्भेस्ट्रेले भने।

गोल्डेन बुट जित्ने दौडमा रोनाल्डो मात्र नभई मोहम्मद सलाह र ह्यारी केन पनि हुन सक्ने सिल्भेस्ट्रेको अनुमान छ। उनले भने,”हालाण्ड होइन बरु सलाह र केन चाहिँ गोल्डेन बुट दौडमा हुनेछन्।”

प्रकाशित : शुक्रबार, असार ०३, २०७९१२:२३

जिदानले पिएसजीको कमाण्ड सम्हाल्ने बितिकै यी खेलाडी धरापमा, क्लबबाट लखेटिने !