अटेरी निस्किए नेयमार, पिएसजी छोड्न मानेनन् !

एजेन्सी – ब्राजिलियन स्टार फरवार्ड नेयमारले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्न अस्विकार गरेका छन्। पिएसजीले यहि समर ट्रान्सफर विन्डोमा बिक्री गर्न खोजेपनि नेयमारले पिएसजी छाड्न अस्विकार गरेका हुन्।

पिएसजीको ध्यान च्याम्पियन्स लिग जित्ने थप बलियो टोली निर्माणमा केन्द्रित छ। पिएसजीले क्लबमा विभिन्न परिवर्तन गर्ने तयारी गरिरहेको छ। पिएसजीको अब ध्यान क्लबको प्रशिक्षक परिवर्तन तर्फ केन्द्रित छ।

त्यस्तै विभिन्न स्पेनिस तथा फ्रेन्च मिडियाहरुको भनाईलाई मान्ने हो भने पिएसजीले ब्राजिलियन फरवार्ड नेयमारलाई पनि बिक्री गर्ने योजना बनाएको छ। सन् २०२१-२२ को सिजन खासै प्रभावकारी भूमिका निभाउन असमर्थ नेयमारलाई सक्दो छिटो बिक्री गर्ने पिएसजीको तयारी रहेको बताइन्छ।

गत सिजन भन्ने हो भने नेयमारले पिएसजीका लागि त्यस्तो ठूलो योगदान दिन नै सकेनन्। सिजनभर उनले पिएसजीका लागि २८ खेल मात्र खेल्न सके। त्यसमा उनले १३ गोल गरे। त्यस्तै गत सिजन नेयमारको नाममा आठ असिस्ट थिए।

पिएसजीका अधिकारीहरु नेयमारमा गरेको लगानी खेर गएको निष्कर्षमा पुगेको र उनलाई बिक्री गर्ने तयारीमा जुटेको मिडियाहरु बताउँछन्। नेयमारलाई बिक्री गरेर नयाँ खेलाडी भित्र्याउने पिएसजीको योजना रहेको छ।

तर नेयमार भने कुनै पनि हालतमा पिएसजी नछाड्ने पक्षमा छन्। नेयमार पिएसजीमै रहेर च्याम्पियन्स लिग जित्न कटिवद्ध रहेका छन्। नेयमारले क्लब नछाड्ने विषयमा पिएसजीका अधिकारीहरुलाई समेत जानकारी गराइसकेको बताइन्छ।

यसै बीच केहि फ्रेन्च मिडियाहरुले क्लबका अर्का युवा स्टार किलियन एम्बाप्पेले समेत नेयमारलाई पिएसजीमा देख्न नचाहेको बताइरहेका छन्। नेयमारबाट अब पहिला जस्तै प्रदर्शन गर्न नसक्ने हुँदा उनको स्थानमा युवा खेलाडीलाई भित्र्याउनुपर्ने पक्षमा एम्बाप्पे रहेको फ्रेन्च मिडियाहरुको भनाई छ।

प्रकाशित : शनिबार, असार ०४, २०७९११:२६

मेस्सी र रोनाल्डोमा को उत्कृष्ट ? यस्तो छ रोनाल्डोका पूर्वसहकर्मीको जवाफ !