इटालियन मिडियाको दावी – ‘रोनाल्डो युनाइटेडबाट आउट’

एजेन्सी – विभिन्न इटालियन मिडियाहरुको दावीलाई मान्ने हो भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने पक्षमा छन्। नवनियुक्त प्रशिक्षक एरिक टेन ह्यागको आगमनले क्लबमा आफ्नो भूमिका घट्न सक्ने भएका कारण रोनाल्डो युनाइटेड छाड्ने मनस्थितिमा पुगेको इटालियन मिडियाहरुले दावी गरेका हुन्।

इटालियन पत्रिका ला रिपब्लिकले हालसालै क्रिस्टियानो रोनाल्डोको सम्भावित भविष्यको बारेमा एक रिपोर्ट जारी गरेको छ। सो रिपोर्ट मार्फत ला रिपब्लिकले रोनाल्डोको युनाइटेडबाट बहिर्गमन हुन सक्ने खुलासा गरेको छ।

सो पत्रिकाका अनुसार टेन ह्याग युवा खेलाडीहरुलाई बढी प्राथमिकता दिने पक्षमा रहेका छन्। टेन ह्यागको योजनामा रोनाल्डोको भूमिका के हुने भन्ने विषयमा प्रष्ट नहुँदा रोनाल्डोले युनाइटेड छाड्ने सम्मको तयारी गरेको ला रिपब्लिकले जनाएको छ।

टेन ह्याग युनाइटेडको खेल शैली नै परिवर्तन गर्ने तयारीमा रहेका छन्। उनी डच क्लब आयक्सकै शैली युनाइटेडमा पनि लागू गराउने पक्षमा रहेका छन्। यो विषयमा रोनाल्डो सहमत नरहेको ला रिपब्लिकको दावी छ।

त्यस्तै युनाइटेडले च्याम्पियन्स लिग नखेल्ने कुराले पनि रोनाल्डोलाई तनाव दिरहेको छ। सन् २०२१-२२को सिजनमा युनाइटेड प्रिमियर लिगको शिर्ष चार भित्र पर्न सकेन। फलस्वरूप युनाइटेडले आउने सिजन युरोपा लिग खेल्नेछ। यस कारणले गर्दा पनि रोनाल्डो युनाइटेड छाड्ने बारे सोचिरहेको बताइन्छ। रोनाल्डोले युनाइटेड छाड्न चाहेको बारे विभिन्न मिडियाहरुमा खबर आएपनि रोनाल्डो आफैंले भने त्यस बारे केहि पनि बोलेका छैनन्।

प्रकाशित : आइतबार, असार ०५, २०७९०९:३१

क्लोपले भित्र्याएका यी तीन खेलाडी जो नमज्जाले फ्लप भए ! को-को ?