अन्तिम विश्वकपमा मेस्सीले जिताउलान् त अर्जेन्टिनालाई तेस्रो उपाधि, कति छ सम्भावना ?

पहिलो पटक जाडो महिनामा हुन लागेको विश्वकप आउँदो नोभेम्बर २१ बाट कतारमा सुरु हुनेछ। कतार विश्वकप २०२२ को पूरा खेल तालिका पनि सार्वजनिक भइसकेको छ। छनोट हुन सफल ३२ टोलीलाई एक समूहमा ४ टोली गरेर ८ समूहमा विभाजन गरिएको छ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना फुटबल जगतमा ठूलो इतिहास बोकेको राष्ट्र हो। हरेक पुस्तामा विश्वकै उत्कृष्ट खेलाडी उत्पादन गरेको अर्जेन्टिनाले हालसम्म २ विश्वकप जित्न सफल भएको छ। अन्तिम पटक अर्जेन्टिनाले सन् १९८६ मा डिएगो म्याराडोनाको कप्तानीमा विश्वकप जितेको थियो। पछिल्लो समय सन् २०१४ मा अर्जेन्टिना विश्वकप जित्न निकै नजिक पुगेको थियो जब मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० ले पराजित भएको थियो। गत समरमा मात्र २८ वर्षपछि प्रमुख अन्तराष्ट्रिय उपाधिको रूपमा २०२१ कोपा अमेरिका जितेको थियो।

यो फुटबल इतिहास कै सर्वश्रेष्ठ मध्ये एक लियोनल मेस्सीको पहिलो अन्तराष्ट्रिय उपाधि रहेको थियो। त्यस्तै, यही जुन १ मा मात्रै मेस्सीले दोस्रो अन्तराष्ट्रिय उपाधि पनि हात परे जब अर्जेन्टिनाले फाइनालिसिमामा इटालीलाई ३-० ले पराजित गर्यो। अर्जेन्टिनी जर्सीमा कुल ८६ गोल गरेका मेस्सीले सम्भवत अन्तिम विश्वकपमा अर्जेन्टिनालाई तेस्रो विश्वकप जिताउन सफल होलान् ?

अर्जेन्टिना पछिल्ला ३३ खेलमा अपराजित रहेको छ। त्यस्तै, मेस्सी लगायत एंगल डी मारिया, क्रिस्टियन रोमेरो, एमिलियानो मार्टिनेज, लाउटारो मार्टिनेज जस्ता उत्कृष्ट खेलाडी अर्जेन्टिनाको टोलीमा रहेका छन्।

विश्वकप २०२२ मा अर्जेन्टिनाको समूह:

समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

यस्तो रहेको छ विश्वकप २०२२ मा अर्जेन्टिनाको समूह चरणको खेल तालिका (नेपाली समय अनुसार)

अर्जेन्टिना भर्सेस साउदी अरेबिया : २२ नोभेम्बर, दिउँसो ३ः४५ बजे
अर्जेन्टिना भर्सेस मेक्सिको : २७ नोभेम्बर, राति १२ः४५ बजे
पोल्यान्ड भर्सेस अर्जेन्टिना : १ डिसेम्बर, राति १२ः४५ बजे

प्रकाशित : आइतबार, असार ०५, २०७९१२:५१

म्याड्रिडले यी खेलाडीमा गरेको लगानी गयो पानीमा !