काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्न चाहेको तर कांग्रेस र माओवादीले आलटाल गरेको बताएका छन्।
पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेको कर्मचारीलाई दुर्व्यवहार गरेको विषयमा बोल्दै नेकपा एसका अध्यक्ष नेपालले मन्त्रीहरू परिवर्तन गर्न गरिएको प्रस्ताव नै आलटाल भएको बताएका हुन्।
पहिले सरकारमा सहभागी हुँदैमा ६ महिनामा मन्त्री हेरफेर गर्ने निर्णय गरेको भन्दै अध्यक्ष नेपालले अहिले ८ महिनामा मन्त्री हेरफेर गर्न लाग्दा कांग्रेस र माओवादीमा पनि समस्या रहेको भन्दै केही समयपछि परिवर्तन हुने बताए।
‘नयाँ मन्त्री पठाउन ढिला भइरहेको छ। प्रधानमन्त्री र माओवादीका साथीले हामीभित्र पनि यस्ता माग भएकाले एक दुई दिन पर्खिनुस् भन्नुभएको थियो। छिट्टै हुन्छ भन्ने जवाफ दिनुभएको छ,’ अध्यक्ष नेपालले भने।
पर्यटनमन्त्रीले कर्मचारीहरूलाई दुव्र्यवहार गरेको विषयमा खास जवाफ नदिएपनि व्यक्तिको बारेमा बोल्न कठिन हुने बताएका थिए। मन्त्रीहरूले मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिएपछि हेरफेर गर्ने समझदारी भएको नेताहरूले बताएका थिए। अध्यक्ष नेपालले आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा सरकार परिवर्तनको विषयमा पार्टीले निर्णय गरेर पठाइसकेको जानकारी दिएका थिए।
आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गठबन्धनको बलमा चुनाव जित्ने सोचाइ त्याग्न आग्रह गरेका छन्। उनले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएको र अहिलेको गठबन्धनबाट धेरै हदसम्म पाठ सिकेको समेत बताएका छन्।
‘गठबन्धन–गठबन्धनको गीत गाउन बन्द गर्नुस्। आफ्नो खुट्टामा संगठन निर्माणमा जोड दिनुस्। एक्लै चुनाव जित्ने गरी तयारी गर्नुस्,’ अध्यक्ष नेपालले भने।

