काठमाडौँ – भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतंकवादी गतिविधि हुने गरेको आरोप लगाएको छ। नेपाल–भारत सहसचिवस्तरीय सीमा व्यवस्थापनसम्बन्धी ‘ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लुजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
नेपाल–भारत सीमा व्यवस्थापनको १२औं बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारतविरोधी आतंकवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो। बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो।
वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए। भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए।
बैठकमा परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका तीनजना सहसचिव, अध्यागमन विभागका महानिर्देशक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, गृह मन्त्रालयका स्थानीय प्रशासन र सीमा तथा अध्यागमन शाखाका दुई उपसचिव सहभागी थिए।
करिब ६ वर्षपछि भएको उक्त बैठकमा भारतीय पक्षले नेपालका मदरसाभित्रबाट हुने गरेका आतंकवादी गतिविधि रोक्न आग्रह गरेको थियो। नेपाली पक्षले विविध विषय उठाए पनि भारतीय पक्षले कुरा गर्न नचाहेर बैठक टुंग्याइएको थियो। खासगरी एक देशमा अपराध गरेर अर्को देशमा लुक्ने, हतियारको अवैध ओसारपसार, आतंकवादी गतिविधि, लागुऔषध, जाली नोटको कारोबार, सुन तस्करी, भन्सार छलीलगायत साझा समस्या समाधानमा नेपालले कुरा राख्दा भारतीय पक्षले नेपालका मदरसामा पाकिस्तानी र अफगानी आतंकवादीको घुसपैठ भएको भन्दै आपत्ति जनाएको थियो। नेपाली पक्षले आतंकवादीको कुनै देश र धर्म नहुने भएकाले यस्ता गतिविधि रोक्न सरकार सक्षम रहेको बताएको थियो।
‘नेपालमा रहेका सबै मदरसा विद्यालयका रूपमा दर्ता भइसकेका छन् र नियमित अनुगमन गरिरहेका छौं, छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमिबाट कुनै पनि गतिविधि हुन दिँदैनौ भनेर हामीले भन्यौं,’ बैठकमा सहभागी एक अधिकारीले भने।
वार्तामा नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा गर्ने दुर्व्यवहार रोक्न भारत सरकार सकारात्मक बनेको छ। ‘दुई देशलाई आघात पर्नेगरी कुनै पनि कार्य नगर्ने र सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न दुवै पक्ष सहमत भएका छौं,’ गृह मन्त्रालयका प्रवक्ता एवं वार्तामा नेपाली पक्षको नेतृत्व गरेका सहसचिव पोखरेलले बताए। खासगरी सीमा सुरक्षा, सीमा व्यवस्थापन र सीमापार अपराध रोकथाम–नियन्त्रण एवं सीमाबाट हुने घुसपैठलाई केन्द्रमा राखेर बैठकमा छलफल हुनुपर्नेमा भारतीय पक्षले नेपालका मदरसाबाट आतंकवादी गतिविधि हुने गरेको भन्दै यसै विषयलाई प्राथमिकता साथ उठाएको थियो।